१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निकुञ्जमा नयाँ प्रविधि

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जमा ‘रियल टाइम स्मार्ट पट्रोल’ सुरु भएको छ। निकुञ्ज क्षेत्रमा परिचालित गस्ती टोलीले फिल्डमा देखेका कुरा तत्काल केन्द्रसम्म पु¥याउनका लागि यो प्रविधिको सुरुवात गरिएको हो।

निकुञ्जको ४२ औं स्थापना दिवसका अवसर पारेर बिहीबारदेखि निकुञ्जमा नयाँ प्रविधिको प्रयोग थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। ‘निकुञ्ज क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र गस्ती टोलीलाई प्रभावकारी रूपमा परिचालन गर्नका लागि यो प्रविधिको सुरुवात गरेका हौं,’ प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, ‘हिमाली निकुञ्जमा पहिलोपटक यो प्रविधि प्रयोग गरिएको हो।’

यो प्रविधिबाट गस्ती टोली परिचालित भए नभएको, गस्ती टोलीले पार गरेको दूरी, समय, गस्ती गएको क्षेत्रको अवस्थाबारे कार्यालयमा बसेर जानकारी लिन सक्ने उनको भनाइ छ। प्रविधि सञ्चालनका लागि मध्यवर्ती क्षेत्र सहयोग आयोजना (डब्लुडब्लुएफ) ले आर्थिक सहयोग गरेको छ। नेपाली सेनाको सूचना प्रविधि महाशाखाको प्राविधिक सहयोगमाप्रविधि सञ्चालन गरिएकोनिकुञ्जले जनाएको छ। पहिलो चरणमा निकुञ्जमा परिचालित हुने गस्तीका लागि डब्लुडब्लुएफले १६ वटा मोबाइल प्रदान गरेको छ। 

अहिले वितरण गरिएको मोबाइलमा ‘रियल टाइम स्मार्ट पट्रोल’ को मोबाइल एप्स सञ्चालन गर्ने र आएको फोन उठाउन मात्र मिल्ने डब्लुडब्लुएफ नेपालका कार्यक्रम अधिकृत पुष्प पाण्डेले बताए। ‘हामीले प्रदान गरेको मोबाइलमा आएको फोन उठाउन र सम्बन्धित मोबाइल एप्समात्र सञ्चालन गर्न मिल्छ,’ कार्यक्रम अधिकृत पाण्डेले भने, ‘यसले गस्ती परिचालनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ।’

नेपालमा स्मार्ट पट्रोलिङ सन् २०११ बाट सुरु भएको थियो। पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा यसको प्रयोग गरिएको थियो। स्मार्ट पेट्रोलिङ गर्दा गस्ती जाने टिमले फर्म, जिपिएस, क्यामेरा, बोकेर जानुपर्ने बाध्यता थियो। गस्ती टोलीले संकलन गरेको तथ्यांक निकुञ्जको पोष्ट, निकुञ्ज कार्यालय हुँदै केन्द्रमा पुग्थ्यो। संकलन गरिएको तथ्यांक केन्द्रमा पठाएर अद्यावधिक गर्दा करिब तीन महिना लाग्ने गरेको पाण्डेले बताए। अहिले सुरु गरिएको प्रविधिले भने गस्ती टोली पुगेको स्थान, गस्तीक्रममा भेटिएका वस्तुगत विवरण, गस्ती हिँडेको दूरीलगायत विषयमा तत्कालै केन्द्रबाट हेर्न सकिनेछ। 

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको निकुञ्जभित्र नेपाली सेनाका ९ वटा र निकञ्जका १० वटा पोष्ट छन्। २०३२ चैत ९ गते स्थापना गरिएको निकुञ्जले रसुवाको ५७ प्रतिशत, नुवाकोटको ७ प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत क्षेत्रफल ओगटेको छ। निकुञ्जभित्र हुने वन पैदावारको चापलाई न्यूनीकरण गर्न तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि २१ वटा उपभोक्ता समिति र एक सय ९१ वटा उपभोक्ता समूह क्रियाशील छन्। यहाँ विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिउँचितुवा, ध्वाँसेचितुवा, ब्वाँसो, सालक, चरिबाघलगायतका वन्यजन्तु पाइन्छ। निकुञ्जमा एक सयभन्दा बढी वनस्पति, ४६ प्रजातिभन्दा बढी स्तनधारी जनावर, तीन सय १२ भन्दा बढी प्रजातिका चरा पाइन्छ।

प्रकाशित: ११ चैत्र २०७४ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App