१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बर्दियामा हुलाकी सडक वर्षौंदेखि अलपत्र

बर्दिया- मर्मतसम्भार अभावले हुलाकी सडक जीर्ण बन्दै गएपछि सर्वसाधरणले सास्ती खेप्नु परेको छ। निर्माणाधीन सडकको काम भारतीय ठेकेदारले ठप्प पारेपछि यसको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। सडकमा ठूला खाडल हुँदा पैदल हिँड्न समेत गाह्रो छ। जबर्जस्ती गाडी कुदाउँदा दुर्घटनाको जोखिम बढेको छ। सदरमुकामसँग प्रत्यक्ष जोडिएका सडक राजापुर र भुरिगाउँ वर्षौंदेखि जीर्ण छ। भारतीय ठेकेदारले काम रोकेपछि हुलाकी सडक जीर्ण बन्दै गएको हो।

हुलाकी सडक विस्तार गरेर पक्की बनाउन काम गरिरहेको ठेकेदार भागेपछि ठुल्ठूला खाल्डाले ठूला सवारी साधन चल्न समस्या छ। भुरिगाउँ  मूर्तिहा सडकलाई पक्की बनाउन भारतीय ठेकेदारले विभिन्न ठाउँमा खनेका खाल्डामा पानी जम्दा सडक दुर्घटना बढ्दै गएको स्थानीयको गुनासो छ। सदरमुकाम गुलरियाबाट अन्य जिल्ला आउजाउ गर्न प्रयोग गरिने उक्त खण्ड दशकौंदेखि जीर्ण अवस्थामा छ।

खाल्डा र जीर्ण सडकमा जबर्जस्त गाडी कुदाउँदा बस व्यवसायी मर्कामा परेको कृष्णसार यातायात व्यवसायी संघका अध्यक्ष शम्भु रिजालले बताए।' सडकमा गाडी चल्न सक्ने अवस्था छैन,' उनले भने, 'बर्खामा भगवानको भरमा गाडी चलाउनु पर्ने अवस्था छ।'

गाडी ठप्प पार्दा सर्वसाधारण समस्या पर्ने बाध्यताले चलाउनुपरेको उनको गुनासो छ। सडकमा बर्सेनि मर्मत खर्च र दुर्घटनाले समितिलाई आर्थिक भार थेग्न गाह्रो भएको उनको भनाइ छ। 'राज्यले तत्काल मर्मत सम्भार नगरे समिति गाडी चलाउन सक्ने स्थितिमा छैन,' उनले भने।

पहाडी जिल्लासँग सहज पहुँच रहेको गुलरिया–मुर्तिहा सडकमा गाडी चल्न नसक्ने अवस्थाले व्यापारिक कारोबार नहुँदा समग्र जिल्लाको भविष्य अन्योलग्रस्त बन्दै गएको छ। विकासको मेरुदण्ड मानिने सडक वर्षौंदेखि अलपत्र पर्दा राज्यको जिल्लालाई हेर्ने दृष्टिकोण छर्लंग भएको स्थानीयको भनाइ छ।

स्थानीयबासी प्रदर्शन गर्दै सडकमा निस्कँदा पनि निर्माणको काम अघि बढ्न सकेको छैन।

हुलाकी सडक निर्माण अलपत्र पर्दा व्यावसायिक कारोबारमा भारी गिरावट आइसकेको गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष अमरबहादुर खड्काले बताए। 'सबै हुलाकी सडक खण्ड अलपत्र अवस्थामा छन्,' उनले भने, 'आवागमन नहुँदा कारोबार हुन सक्दैन।'

सडककै कारण सुरक्षा चुनौती बढेको उनले औल्याए। पटक–पटक गरेका सडक आन्दोलनलाई राज्यले बेवास्ता गरेकाले अब कडा आन्दोलन गर्ने उनले चेतावनी दिए।

राजापुर जाने सडक वर्षौंदेखि जीर्ण हुँदा पश्चिम नेपालको पुरानो व्यापारिक स्थल राजापुरको सर्म्पक टुटेको उनको भनाइ छ। सरकारले जीर्ण बन्दै गएका सडक मर्मत सम्भारका नाममा हुलाकी सडक कार्यालयले बर्सेनि खर्च गर्ने माध्यम बनेको स्थानीयको आरोप छ।

'बेला बखत कनिका छरेझै गिट्टी छर्ने काम मात्रै गरेको देखिन्छ,' आक्रोशित हुँदै स्थानीय उपभोक्ता रामबहादुर चौधरीले भने, 'प्रगति केही देखिँदैन, कार्यालयमा सम्पर्क गर्दा करोड रुपैयाँ खर्च गरेको जानकारी दिन्छ।'

बर्सेनि हुलाकी सडकले मर्मत सम्भारका लागि गर्ने खर्च बालुवामा पानी हाले सरह भएको छ। सडकको नाममा गरिने खर्च हुलाकी सडक कर्मचारीले अनमियतता गर्ने गरेको उनको आरोप छ। जिल्लामा सडकको नाममा बर्सेनि करौडौं रुपैयाँ खर्च गरिने हुलाकी सडक, कृषि सडक र सहायक राजमार्गको अवस्था पनि उस्तै छ। सडक मर्मतसम्भार, स्तरोन्नतिका नाममा हुलाकी सडक कार्यालय, जिल्ला विकास समिति, सडक डिभिजनले बर्सेनि करौडौं रुपैयाँ खर्च गर्दै आएका छन्।

सन २०१० को अन्तिममा हुलाकी सडक खण्ड मर्मत सम्भारका लागि भारतीय ठकेदारले काम सुरु गरेको थियो। सर्वे गर्दा करिब डेढ वर्ष लागेको सडक विस्तारका ठाउँमा खाल्डा खनेर अग्लो बनाएको थियो।

प्रकाशित: ३१ भाद्र २०७३ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App