१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

दाहाललाई धन्यवाद

धेरैले विगतको द्वन्द्वलाई सम्झना गरी मनमा आक्रोश, पूर्वाग्रह पालेर धेरै अनावश्यक आलोचना गरिरहेका थिए तर हामी सबै काम गरेको, भएको र स्थितिमा परिवर्तन भएको देख्न चाहन्थ्यौँ । ९ महिनाअगाडि संसदीय अभ्यासको कोरा गफ र अपरिपक्व हानाथापमात्र भएको परिस्थिति नेपालमा थियो जहाँ भूकम्पपीडितहरू खाली आकाशमा दिनरात बिताइरहेका थिए । भारतको नाकाबन्दीले देश र जनता पीडित थिए । लोडसेडिङ्गले काम गर्न चाहनेहरू पीडित थिए । यस्तो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा केही हदमा भए पनि समस्या समाधान भएको छ । गगन थापा, नवीन्द्रराज जोशी र जनार्दन शर्मा अनि हितराज पाण्डेहरू इतिहासमा नै अब्बल मन्त्री देखिएका छन् । शायद दाहालको नेतृत्वले उहाँहरूमा धेरै जाँगर जोस र प्रतिबद्धता अन्तरस्करणबाट ऊर्जा बनेर बाहिर आयो र काममा परिणत भयो होला कि भन्ने लागेको छ ।

नचाहेर पनि दाहालको बहिर्गमन हेर्नुपर्याे । सत्ताबाहिर रहेर पनि दाहालको गतिशील नेतृत्व देशले पाइरहने अपेक्षा गर्छु।

हामीलाई थाहा छ कि दाहाल ‘कि गर कि मर’ को बाटोबाट आएका हुन् । हिजो राज्यसत्ता लिन संघर्ष गर्दा चौकी र ब्यारेक कब्जा गर्नुपर्दा केही सिपाही, प्रहरी र गरिबका छोराछोरीको बलिदान नचाहेर पनि मान्न कर लाग्यो तर यसको मूल्य असल काम गरेर चुकाएका छन् भने त्यो सन्तोषको विषय हो । इतिहास सम्झनु तर नकोट्याउनु भन्छन् । त्यसकारण पनि इतिहासको विद्यार्थीको नाताले दाहाल र उनको टिमलाई बधाई र धन्यवाद ज्ञापन गर्छु । लोकतन्त्र संस्कार, सिप, कला र असल पद्धति पनि हो । 

हामीलाई थाहा छ कि माओवादीलाई मूल राजनीतिक धारमा ल्याउँदा गिरिजाप्रसादले त्यो मध्यरातको बीच चिनाउँदा ‘लौ रहस्यमय मानिएको प्रचण्ड भन्ने व्यक्तिलाई तपाईँहरू सामुन्ने ल्याइदिएको छु, लामालामा... भएको आदि’ भनिरहँदा देशपे्रमी धेरै मानिस टिभीअगाडि बसेर आनन्द र सन्तोषको सास फेर्दै त्यो रातको दृश्य हेरिरहेका थिए । इतिहासले ती क्षण बिर्सिएको छैन । 

सफलताका धेरै आमा/बाबा हुन्छन् रे । तर विफलताका कोही होइनन् । गणतन्त्रको सफलता नेपालका आमजनता, आठ राजनीतिक दल र माओवादीका अध्यक्षको हिसावले दाहालको पनि हो । तर त्यसपछि हालसम्म आइपुग्दा नेता, उपल्लो तहका कर्मचारी, अफिसर, जोकोही पनि ठेकेदार भन्ने नेपालमा धेरै लोभी पापीले काठमाडौंमा बसेर कतिसम्म थुपारेका रहेछन् भने तिनीहरूका अनेक संस्था, हाउजिङ र मल्टी नेसनलमा समेत लगानी भएको रहेछ । हो वा होइन के हो ? दाहालले नै लेखेर प्रकाशन गरिदिएमा त्यसले केही दिशानिर्देश गर्ने आशा गरिएको छ । कारण दाहाल क्रान्तिकारी नेता पनि हुन ।

अहिले नेपालमा युवाहरूले काम, रोजगारी, दाम, नाम र मान खोजेका छन् । चेलीवेटी र भाइबहिनी विदेश गएर भिख मागेर जीवन गुजारेका देख्दा र सुन्दा आमजनतालाई नेपालमा बाँच्नु धिक्कार भन्ने पनि लागिरहन्छ । हाम्रो देशमा त्यसरी काम गरेर स्वाभिमानले बाँच्न सक्ने किसिमको आमवातावरण र चेतनाको अभियान महोत्सव जस्तै अहिले चाहिएको छ । यसमा मिलेर लागिरहन पाएमा सन्तोष हुने थियो  । म विकासको पनि विद्यार्थी भएकाले धेरै सम्भावना देखिरहेको छु । विदेशमा सबै काम गर्ने तर नेपालमा केही नगर्ने, भारतबाट सबै कुरा ल्याउने, नेपालमा उब्जाउन हिम्मत नगर्ने, ल्याएरमात्र जीविका चल्ने, राजस्थानको माटो र मार्वलले भारतीय मिस्त्रीहरूले बनाएको घरको पाँचौँ र साताँै तलामा बसेर अनार र काश्मीरको स्याउ खाँदै भारतलाई गाली गर्ने, चीनको प्रशसा गरेर कहिले नथाक्ने, अनि कामचाहिँ सिन्को नभाँच्ने, सडकको तल्लो तलामा हामीले महँगो भाडामा फोहोरमैलाबीच बसेर दिनरात त्यो प्रवृत्ति सही छ भनिदिनुपर्ने कहिलेसम्म ? 

आमनेपालीले विकास र शान्तिको मृगतृष्णा बनेर सधैं भागदौडमा तडपिइरहनु पर्ने, सरकारी जति सर्वनाश गर्ने, निजी र व्यक्ति सर्वत्र बेपर्वाहीले व्यभिचार र भ्रष्टाचार गरी मौलाउने, यही प्रवृत्तिले नेपाललाई आगामी दिनमा समाप्त पार्ला भन्ने त्रास लागिरहन्छ पनि नचाहेर पनि दाहालको बहिर्गमन हेर्नुप¥यो । सत्ताबाहिर रहेर पनि दाहालको गतिशील नेतृत्व देशले पाइरहने अपेक्षा गर्छु । 
पद्मकन्या बहुमुखी क्याम्पस

प्रकाशित: २१ जेष्ठ २०७४ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App