१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा उत्पन्न राजनीतिक संकटप्रति प्रधानमन्त्रीको चासो, खनाललाई भनेः आजै निकास दिन्छु

नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने गठबन्धनभित्रको सहमतिले केन्द्रसम्मै राजनीतिक संकट निम्तिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिको पहल थालेका छन्।

उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिक संकट चुलिएको हो। प्रदेशकै ठूलो दल नेपाली कांग्रेसले लक्ष्मण किशोरलाई समर्थन गरेपछि यहाँ गठबन्धन नै धरापमा परेको बुझाई प्रधानमन्त्री दाहालको छ।

मुख्यमन्त्री दिने सहमति गठबन्धनले कार्यान्वयन नगरेको विश्लेषणसहित नेकपा (एकीकृत समाजवादी) ले कांग्रेससहितको गठबन्धनलाई सहयोग गरेपछि केन्द्रसम्मै हलचल ल्याएको हो।

बहुमत सदस्य लक्ष्मण किशोरको पक्षमा देखिएपछि प्रधानमन्त्री दाहालले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भएपनि गठबन्धन बचाउने जुक्तिबारे पहल थालेका हुन्। उनले मंगलबार बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बालु्वाटार बोलाएर सुदूरपश्चिमको मुख्यमन्त्री दिने र अन्य विवाद विस्तारै मिलाउने गरी छलफल थालेका हुन्।

छलफलपछि नागरिकसँग नेता खनालले सुदूरपश्चिममा देखिएको राजनीतिक संकटप्रति प्रधानमन्त्री गम्भीर हुनु भएको बताउँदै आजै निकास दिनेबारे सकारात्मक कुरा भएको जानकारी दिए। उनले भने, ‘पूर्ववत सहमतिअनुसार अघि बढ्न मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ।’

सम्मानित नेता खनालले मंगलबार साँझसम्ममा प्रधानमन्त्री दाहालले कुनै ठोस निर्णय लिने र त्यसले निकास दिनेमा आफूहरु विश्वस्त रहेको बताए।

उनले भने, ‘अहिले निर्माण भएको गठबन्धन बामपन्थी भएकाले त्यसलाई बचाउन जरुरी रहेको बारे मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु। एकआपसमा सम्मान र समानतालाई स्थापित गर्न सकिएमात्र गठबन्धन अगाडि बढ्छ भन्ने कुरा मैले सुझाएको छु। छलफलपछि उहाँ पूर्वसहमतिअनुसार नै अगाडि बढ्न तयार देखिनु भएको छ।’

सुदूरपश्चिममा मुख्यमन्त्री र केन्द्रमा कम्तीमा एउटा मन्त्री पाउने गरी गठबन्धनमा सहभागी हुने प्रयासमा रहेकी उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसमेत मुख्यमन्त्री गुम्ने सम्भावना देखेपछि प्रधानमन्त्री दाहालको पहलमा सकारात्मक बनेको नेता खनालको भनाइ छ।

पार्टीभित्रै विपक्षी जस्तै बनेका संरक्षक रेशम चौधरी पक्षले कांग्रेसको समर्थनमा मुख्यमन्त्री पाए आफ्नो हार हुने बुझाईमा अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री दाहाल र नेता खनालको छलफलप्रति सकारात्मक भएकी हुन्। छलफलमा सहभागी उनले दुई पक्षको कुराकानीलाई सकारात्मकरुपमा लिएकी हुन्।

उन्मुक्तिका सांसद लक्ष्मण किशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेको मंगलबार तेस्रो दिन हो। प्रदेश प्रमुख नजिर मियाँले जाँचबुझ चलिरहेको भन्दै कसैलाई मुख्यमन्त्री नियुक्त गरेका छैनन्।

प्रकाशित: ४ वैशाख २०८१ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App