२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ललितपुरमा निःशुल्क पाठेघर र स्तन क्यान्सरकाे परीक्षण सुरु

पोजेटिभ देखिए उपचार पनि निःशुल्क

ललितपुर महानगरपालिकाले महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ।

एक महिनाभित्र महानगरको २९ वटै वडामा आयोजना गर्ने उद्देश्य सहित महानगरले वडा नम्बर-१४ स्थित तिखेदेवलबाट बुधबार परीक्षण सुरु गरेको हो।

परीक्षणका क्रममा पोजेटिभ देखिए महानगरले उनीहरुको उपचारसमेत निःशुल्क गरिदिने बताएको छ। पाठेघरको मुखको क्यान्सरको परीक्षण एचपीभीडीएनए विधिबाट गरिने महानगरका प्रजनन स्वास्थ्य फोकल पर्सन दाताराम अधिकारीले बताए।

शिविर शुभारम्भ गर्दै सामाजिक विकास समितिका संयोजक एवं महानगरका प्रवक्ता राजु महर्जनले महानगरले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए। स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने ललितपुर महानगरको तयारी छ।

उनले भने, ‘पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरबाट महिला दिदीबहिनी प्रभावित भएको तथ्यांक छ। त्यसको न्यूनीकरणका लागि हामीले महानगरका सबै वडामा यो शिविर राखेका हौं। हामीले गत आर्थिक वर्षमा पनि आठवटा वडामा एचपीभीडीएनए विधिद्वारा १ हजार ३ सय महिलामा परीक्षण गरेका थियौं। उक्त परीक्षणमा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखियो, उनीहरुको उपचार महानगरले गराइराखेको छ।’

ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप, घरघरमा पुगेर ज्येष्ठ नागरिक र अशक्तको स्वास्थ्य परीक्षण लगायतको काम पनि गरिरहेको बताउँदै प्रवक्ता महर्जनले स्वास्थ्य क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गरे। ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गरी सेवासमेत सुरु गरेको छ।

वडा नम्बर-१४ का वडा अध्यक्ष अमृत जङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्त्व दिएको बताए। उनले भने, ‘ समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्त्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिलाको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो।

नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्न संसार भरीमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभीडीएनए प्रभावकारी विधि रहेको बताइन्।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई नसर्ने रोग लाग्ने गरेको जानकारी दिँदै महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको दाबी गरे। उनले भने, ‘समयमै थाहा पाउन सकिए,स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिन्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपीभीडीएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए।

नेपाल सरकारले आर्थिक वर्ष २०८/२०८१ मा कोशी, मधेश र बागमती र लुम्बिनीका ८ जिल्लाका १४ स्थानीय तहबाट एचपीभीडीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा पाइटल प्रोजेक्टका रुपमा सुरु गरेको छ।

सन् २०३० सम्ममा ३० वर्षमाथिका महिलामध्ये नब्बे प्रतिशतको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने दिगो विकास लक्ष्य सरकारको छ।

प्रकाशित: १२ वैशाख २०८१ १६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App