संविधानमा नागरिक सही
०१ असोज २०७२
•
२९ मिनेट पाठ
संविधानमा नागरिक सही
काठमाडौं- 'पहाडमा जाडो बढ्दा तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटु हाम्रो रुनुपर्छ।
पृष्ठभूमिमा दिनेश अधिकारीका शब्द र स्वरुपराज आचार्यको स्वरमा रहेको यो राष्ट्रिय गीत घन्किरहेछ। संविधानसभा भवनको ल्होत्से हल जुन ५ सयभन्दा बढी सभासदको जमघटले खचाखच देखिन्छ।सबैका मन फुरुंग छन्। अनुहारमा असिम खुसी झल्कन्छ। मानौं, सिंगो नेपाल यही हलमा भेला भएर विजयोत्सव मनाउँदैछ।

पहिलो संविधानसभा चार वर्षमा संविधानै बनाउन नसकी दुःखद अवसान भएको तीतो विगत भुल्दै २०७० मंसिर ४ गते विश्वलाई नै चकित पार्ने गरी सम्पन्न निर्वाचनबाट गठित दोस्रो संविधानसभाले डेढ वर्षमा तयार पारेको नयाँ संविधानमा हस्ताक्षर कार्यक्रममा उपस्थित सभासद एकअर्कामा खुसी साटासाट गर्दै बधाई आदानप्रदान गरिरहेका देखिन्थे।

संविधानसभाले बनाएको संविधानको प्रतिमा हस्ताक्षर गर्न शुक्रबारको समय तय भएको थियो।

५ सय ९८ सदस्यीय संविधानसभाका अधिकांश सदस्य राष्ट्रिय पोसाक र पहिचान झल्कने पहिरनमा ल्होत्से हल छिरेका थिए।

संविधान निर्माण प्रक्रिया नै बहिष्कार गरेका राजनीतिक दलबाहेक सबै सभासद हर्षोल्लाससाथ संविधानसभा भवन पुगेका थिए।

बिहान ९ बजेदेखि ३ बजेसम्म राखिएको हस्ताक्षर कार्यक्रममा सभासदले पालैपालो हस्ताक्षर गरे।

अन्तिममा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले 'नेपालको संविधान' प्रमाणीकरण गरे।

सभासद होऊन् या कर्मचारी, पत्रकार होऊन् वा सुरक्षाका लागि खटिएका मर्यादापालक, शुक्रबार सबैमा बेग्लै खालको खुसी झल्कन्थ्यो।

सबैका मोबाइल व्यस्त थिए। एकले अर्कालाई आफ्ना स्मार्टफोन थमाउँदै फोटो खिचिदिन आग्रह गरिरहेका थिए।

सभासदलाई संविधानको प्रतिमा हस्ताक्षर गर्न १० वटा ठाउँ छुट्ट्याइएको थियो।

आ–आफ्नो नाम–नम्बर रहेको टेबलमा पुगेर हर्षित मुद्रामा सभासदहरु हस्ताक्षर गर्न व्यस्त थिए। त्यो ऐतिहासिक क्षणलाई सबै सभासद कोटको खल्तीबाट स्मार्टफोन निकालेर क्यामेरामा कैद गरिरहेका थिए।

'माननीयज्यू, पहिले मेरो फोटो खिचिदिनु न,' हस्ताक्षर गर्ने बेला सभासदहरु आफ्ना मोबाइल अर्का सभासदलाई थमाउँदै भन्थे।

यस्तै भिडमा पुगिन्, सिराहा क्षेत्र नम्बर ६ बाट कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित ६० वर्षीया सीतादेवी यादव।

उनले पनि आफ्नो ठाउँमा गएर पाँचै प्रति संविधानमा हस्ताक्षर गरिन्। मधेसमा आन्दोलन भइरहेका बेला कांग्रेस, एमाले र एमाओवादीका मधेसबाट प्रतिनिधित्व गर्ने सभासदले संविधान निर्माण प्रक्रिया बहिष्कार गर्ने आँकलन थियो। तर उनीहरुले यो ऐतिहासिक जिम्मेवारी भुलेनन्। प्रक्रियामा सहभागी भएर संविधान निर्माण गरे, अनि हस्ताक्षर।

बाहिरिने क्रममा 'मुहारमा खुसीको सीमा नाघेजस्तो देखिएको छ। तपाईंलाई आजको यो दिनमा कस्तो लागेको छ भनी नागरिकले गरेको प्रश्नमा सीतादेवीले भनिन्, 'म यो संविधानको स्वागत गर्छु तर पनि सबैलाई मिलाएर लैजान सके झनै राम्रो हुन्थ्यो। मधेसका माग पनि सबै पूरा हुनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु।'

उनी त्यत्तिमा सीमित रहिनन्, 'संविधान एकैचोटि पूर्ण हुँदैन भन्ने सबैले बु‰नुपर्छ। आगामी दिनमा संशोधन गरेर पनि सबैलाई समेटेर लैजानुपर्छ। यो कुरामा प्रधानमन्त्रीसहित शीर्ष नेता गम्भीर हुनुहुन्छ।'

धेरै जसो सभासद भनेजति पूरा भए पनि एउटै कुरा खट्किएको महसुस भएको प्रतिक्रिया दिन्थे।

'संविधानसभामा रहेका सबै दलका सभासद, विशेषगरी मधेसवादी दलका सभासद पनि यहाँ भइदिएको भए राम्रो हुन्थ्यो तर अन्य दलका मधेसी सभासद खुसी छन्। बाँकी पनि छिट्टै आउनेछन्,' सबैजसो सभासदको प्रतिक्रिया उस्तै सुनिन्थ्यो।

नवलपरासीबाट प्रतिनिधित्व गर्ने मधेसीमूलका सभासद देवकरण प्रसाद कलवारमा पनि खुसीको सीमै थिएन।

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, नेपालै नरहे,

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ...!

तराई हाम्रो सुनका टुक्रा, हिमाल हिराको .........

राष्ट्रकवि माधव घिमिरेका रचना र नातिकाजीको स्वरमा रहेको यो राष्ट्रिय गीत घन्किरहँदा कलवारलाई पनि विभिन्न राजनीतिक दलका सभासदले आफूसँगै फोटो खिचाउन तानिरहेका थिए।

त्यही बेला नागरिकले गरेको प्रश्नमा उनको प्रतिक्रिया थियो, 'मेरालागि आज बहुत खुसीको दिन हो। नेपाली जनताले सात सालदेखि संविधान रोजेका थिए। नेपाली जनताले संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने माग गरेर धेरै आन्दोलन पनि गरे। उनीहरुले संविधानसभाबाट संविधान खोजेका थिए। हामी आज संविधान निर्माणको काम पूरा गरेर खुसी मनाउँदैछौं। त्यसैले ममा खुसीको सीमा छैन।'

कलवारले आफूहरु संविधान निर्माणका लागि नै जनताबाट निर्वाचित भएकाले संविधान नबनाई नहुने बाध्यात्मक अवस्थामा रहेको प्रतिक्रिया दिए।

'हामी संविधान बनाउन आएका थियौं,' उनले भने, 'बनाइछाड्यौं। यसमा हामी अति खुसी छौं। अब सबै नेपाली मिलेर दीपावली गर्नुपर्छ।'

एमाओवादी सभासद लालेन्द्रकुमार मण्डलमा पनि छुट्टै खुसी देखिन्थ्यो। उनले तराईमा भइरहेको आन्दोलनका केही माग जायज भएको बताउँदै संविधान निर्माण प्रक्रिया भने कसैले रोक्न नमिल्ने बताए।

'संविधान निर्माण प्रक्रियामा सबै सहभागी हुनुपर्थ्यो,' मण्डलले भने, 'संविधानसभाबाट संविधान निर्माण हुँदा सय प्रतिशत माग कसैका पनि पूरा हुँदैनन् भन्ने सबैले बु‰नुपर्थ्यो। तर पनि हामी संविधान जारी गरेर दीपावली मनाउन तराई जान्छौं। तराई–मधेसका जायज माग शीर्ष नेताले पनि सम्बोधन गर्ने भनिसक्नुभएको छ।'

बिहान ९ बजेदेखि ल्होत्से हलमा जम्मा भएका सभासद बेलुकासम्म फोटो खिचाउनै व्यस्त थिए।

चर्चित अनुहार हस्ताक्षर गर्न हलमा प्रवेश गर्नासाथ सभासद, सुरक्षाकर्मी, पत्रकार, संविधानसभा सचिवालयका कर्मचारी मोबाइल र क्यामेरा लिएर फोटो खिच्न र सँगै फोटो खिचाउन आतुर देखिन्थे।

हस्ताक्षर सकेका सभासद सीधै सभाध्यक्ष सुवास नेम्वाङ र उपाध्यक्ष ओनसरी घर्तीसँग सामूहिक फोटो खिचाउन भिड्थे। सभाध्यक्षसँग एकल फोटो खिचाउने धेरैका रहर भने भिड र समय अपुगले पूरा हुन सकेन।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल हलभित्र प्रवेश गरेदेखि नै सयौं सभासद, कर्मचारी र सुरक्षाकर्मीसँग लाइन लागेर फोटो खिचाइरहेका थिए। उनलाई भिडले अघि बढनै दिएको थिएन।

उनी एकछेउबाट अर्को छेउसम्म पुग्नै सकेका थिएनन्। एउटा एउटा आएर समाइहाल्थ्यो र फोटो खिचाइहाल्थ्यो।

नेपाल पनि मुसुक्क मुस्कुराउँदै, हात मिलाउँदै, खुसी साटासाट गर्दै फोटोे खिचाउन टक्क उभिदिन्थे।

दिउँसोको २ बज्दा नबज्दै आफ्ना २५ सभासदसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापा ल्होत्से हल प्रवेश गरे।

ढोकादेखि नै अन्य दलका सभासद, कर्मचारी र सुरक्षाकर्मीसँग हात मिलाउँदै मुसुक्क मुस्कुराउँदै उनी हल प्रवेश गरे।

उनको मनमा जेजस्तो भए पनि मुहार उज्यालो देखिन्थ्यो। आफूले बोकेका कुनै एजेन्डा संविधानमा समावेश नभए पनि थापा लोकतान्त्रिक प्रक्रियामा सहभागी भएका थिए।

उनले संविधानसभाले बनाएको संविधान स्वीकार गर्ने भन्दै विपक्षमा मतदान गरे पनि संविधानको प्रतिमा हस्ताक्षर गरे।

हस्ताक्षर सुरु गर्दानगर्दै थापाले पनि आफ्नो कोटको खल्तीबाट स्मार्टफोन निकालेर पत्रकारलाई थमाइदिए।

'मैले हस्ताक्षर गरेको फोटो मेरै मोबाइलबाट पनि खिचिदिनुस् न,' थापाले स्मार्टफोन पत्रकारलाई दिँदै भने।

थापाले संविधानको प्रतिमा हस्ताक्षर गरिसकेपछि सबै उनको सामु झुम्मिहाले। आफ्नै दलका सभासद, अन्य दलका सभासद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार जोकोही उनीसँग तस्बिर खिचाइरहेका थिए।

मुुसुक्क मुस्कानसाथ केहीबेर तस्बिर खिचाएर थापा सभाध्यक्ष नेम्वाङसँग खुसी साट्न मञ्च उक्लिए।

सभाध्यक्ष नेम्वाङसँग जोडसाथ हात मिलाएर बस्दै नबसी थापा त्यहाँबाट बाहिरिए।

त्यति नै बेला पूर्वप्रधानमन्त्री एवं एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई ल्होत्से हल प्रवेश गरे।

पछिल्लो दिन संविधान बन्न नदिने षड्यन्त्र गरिरहेको आरोप खेपेका भट्टराई हँसिलो मुहारसाथ प्रवेश गरे।

उनको मुहारमा पनि खुसीको छुट्टै रौनक थियो। उनी पनि सबैसँग आफ्ना खुसी साट्दै अघि बढे।

उनी हस्ताक्षर गर्ने स्थानसम्म पनि पुग्न पाएनन्। बीचमै रहेका सभासदले घेरिहाले, पोज दिँदै।

सबैले आफ्नै मोबाइलमा भट्टराईसँगै तस्बिर लिन चाहन्थे। उनीहरुले सँगै रहेकालाई आफ्नो मोबाइल थमाइरहेका थिए।

के सुरक्षाकर्मी, के पत्रकार, के कर्मचारी, के सभासद जोकोही पनि हलभित्र प्रवेश गरेपछि कुनै रोकटोक थिएन।

आफ्नो मोबाइलबाट प्रत्येक शीर्ष नेता र चर्चित अनुहारसँगै सेल्फी खिचाउँदै हिँडेकी एक महिला सुरक्षाकर्मीले भनिन्, 'बिहानसम्म तिजको पञ्चमीका दिन पनि ड्युटी परेको भनेर नरमाइलो महसुस भएको थियो। अहिले त सबै भुलिसकें। आज कस्तो रमाइलो लागिरहेको छ।'

केही सभासद फोटो खिचिदिने व्यक्ति नभेटेपछि 'सेल्फी' मै चित्त बुझाउँदैथे।

गाउँछ गीत नेपाली

ज्योतिको पंख उचाली

जय जय जय नेपाल

सुन्दर शान्त विशाल

गण्डकी, कोशी,कर्णाली

मेची र महाकाली,

लेक र बेसी ब्युँझाउँछन्

लहर लाखौं उचाली

पृष्ठभूमिमा यो राष्ट्रिय गीत बजिरहेको थियो। दिउँसोको २ बजेर ४० मिनेट जाँदा प्रमुख दलका शीर्ष नेता एकपछि अर्को गर्दै ल्होत्से हल प्रवेश गरे।

संविधानसभामा उनीहरुकै प्रतीक्षा थियो। सभासदहरु, संविधानसभा अध्यक्ष, संविधानसभा सचिवालयका कर्मचारी, पत्रकार सबै उनीहरुकै प्रतीक्षामा थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौलासँगै हल प्रवेश गरे।

उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक सकेर एकैपल्ट प्रवेश गरेका थिए।

करिब दुई घन्टाअघि संविधानसभा गेट पुगेका एमाले अध्यक्ष ओलीलाई बालुवाटारबाट सँगै संविधानसभामा जाने भनी टेलिफोन आएपछि उनी सीधै बालुवाटार सोझिएका थिए।

ओली हलमा प्रवेश गरेपछि सबैको घेराउमा परिहाले। सबै ओलीसँग खुसी साट्न र सँगै फेाटो लिन आतुर थिए। तर हस्ताक्षरको समय ३ बजेसम्म मात्रै भएकाले पहिले हस्ताक्षर गर्न पुगे उनी।

पत्रकारको घेराउमा परेका ओलीलाई हस्ताक्षर गर्न पनि हतार भयो। उनको सामुन्ने गएर दर्जनांै सभासद, कर्मचारी र सुरक्षाकर्मी उभिए।

विभिन्न समूहसँग भलाकुसारी गर्दै फोटो खिचाइरहेका ओलीले सबै सभासदसँग छुट्टै फोटो खिच्ने रहर व्यक्त गरे।

उनले अरुलाई केहीबेर पर्खन भनेर सभासदहरुसँग केहीबेर सँगै तस्बिर खिचाए।

'अब एकैछिन माननीयज्यूसँग है?' ओलीले नजिकै रहेकासँग यति भनेर सभासदसँग तस्बिर खिचाउन अघि बढे।

त्यति गर्दा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा संविधानसभा भवनको ल्होत्से हल प्रवेश गरे।

त्यसपछि हलको माहोल बेग्लै भयो। सभासद तँछाडमछाड गर्दै उनीहरुसँग तस्बिर खिचाउँदै थिए।

एमाओवादी अध्यक्ष दाहालले २ सय ३८ नम्बरभन्दा माथिका सभासदले हस्ताक्षर गर्ने टेबलमा पुगेर पाँचप्रति संविधानमा हस्ताक्षर गरे।

ती टेबलभन्दा दुई मिटर पछाडिको दुरीमा रहेको स्टेज पुग्न दाहाललाई १५ मिनेटभन्दा बढी लाग्यो।

उनी सकेसम्म छलिएर छिटो स्टेजमा पुग्न चाहन्थे तर घेराउमा परिहाले। केहीबेर सँगै तस्बिर नखिचाई सुखै पाएनन्।

'बधाई छ प्रधानमन्त्रीज्यू,' संविधान निर्माणको नेतृत्व गरेका प्रधानमन्त्री सुशील कोइरालासामु सभासदहरु बधाई दिइरहेका थिए।

उनीहरुसँगै कर्मचारी, सुरक्षाकर्मी पनि प्रधानमन्त्रीसँग तस्बिर खिचाउन चाहन्थे। प्रधानमन्त्रीलाई पनि हस्ताक्षर सकेर स्टेज पुग्न निकैबेर लाग्यो।

छाडेर काम सारा एक काम रोजिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु

भेटे कहीँ बताए हे राष्ट्रका बटोही

रक्षार्थ जन्मिएका छन् कि सपुत कोही

यो प्रश्न ख्याल राखे सबैलाई सोधिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु।

शीर्ष नेताहरुको भिड, खुसीले मन फुरुंग पारेका सभासद आ–आफ्नो तस्बिर खिचाउन व्यस्त भइरहँदा शिशिर योगीको स्वरमा रहेको यो आधुनिक गीत हलमा गुन्जिरहेको थियो।

यसले हलको माहोल थप रोमान्चित बनाएको थियो। स्टेजमा सभाध्यक्ष, उपाध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका प्रमुख नेता खुसी साटिरहेका थिए।

हस्ताक्षर गरेका सबैलाई नेम्वाङले स्वागत गर्दै धन्यवाद दिइरहेका थिए। सबै शीर्ष नेता स्टेज पुगेपछि थाम्नै नसक्नेगरी सभासदको भिड स्टेजमै प्रवेश गर्यो्।

सभासदहरु सबै शीर्ष नेताहरुसँग सामूहिक तस्बिर खिचाउन चाहन्थे र आतुर पनि थिए। तर त्यहाँ खचाखच भिड लागेपछि सुरक्षाकर्मी, कर्मचारी पनि उनीहरुसँगै अघि बढे।

मर्यादापालकले पटकपटक स्टेज खाली गराउन प्रयास गरे पनि सकेनन्। संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले स्टेज खाली गरिदिन सभासदलाई पटकपटक आग्रह गरे।

तर हाँसो र खुसी शीर्ष नेतासँगै साट्न चाहेका सभासद तल ओर्लिनै मानेनन्। उनीहरु सामूहिक फोटो खिच्नै व्यस्त रहिरहे।

सचिव शर्माले सभाध्यक्षले संविधानमा प्रमाणीकरण गर्ने समय भएकाले केहीबेर खाली गराइदिन र त्यसपछि संविधानसभा भवनको मूल गेटमा सामूहिक फोटोसेसन कार्यक्रम राखिएको बताएपछि भिड कम भएको थियो।

फर्किआऊ शान्ति तिमी लालीगुराँस भन्छन्,

फर्की आऊ शान्ति भन्दै डाँफे मुनाल रुन्छन्।

कर्ण दासको स्वरमा रहेको यो राष्ट्रिय गीत घन्किरहँदा सभाध्यक्ष नेम्वाङले संविधानको प्रतिमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेतालाई सँगै स्टेजमा र तल भिडभाड सभासदको बीचमा उनले संविधानको प्रमाणीकरण गरेर सबैलाई देखाएका थिए। त्यसबेला नेम्वाङको मुहारमा हाँसोमिश्रित खुसी देखिन्थ्यो।

उनले प्रमाणीकरण गरिसकेपछि गडगडाहट तालीले नयाँ संविधानको स्वागत गरियो।

संविधानको व्यग्र प्रतीक्षामा रहेका सभासदहरुले प्रमाणीकरणपछि लामो समय ताली बजाइरहे। त्यसपछि सामूहिक फोटो सेसनका लागि शीर्ष नेतासहितको भिड मूल भवनको प्रवेशद्वार पुगेको थियो।

संविधानमा ५ सय ३७ सभासदले हस्ताक्षर गरेका थिए। संविधान विधेयक पारित गर्दा जम्मा ५ सय ३२ सभासद मतदानमा उपस्थित थिए। थप दुई सभासद अस्पतालबाटै हस्ताक्षरका लागि संविधानसभा भवन आएका थिए।

बहुजन समाजवादी पार्टीका विश्वेन्द्र पासवान र मधेस समता पार्टी नेपालका मेघराज निषाध अस्पतालबाटै एम्बुलेन्समा संविधानसभा पुगेर संविधानको प्रतिमा हस्ताक्षर गरेका थिए।

संविधानसभा भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले आफूहरुले बनाएको संविधान समयसापेक्ष र राम्रो भएको प्रतिक्रिया दिए।

'यो संविधान हामीले राम्रो बनाएका छौं,' कोइरालाले संवाददातासँग भने, 'यसलाई अद्वितीय रुपमा विश्व समुदायले समर्थन जनाउनुपर्छ। संविधानकै लागि कति साथी सहिद भए। पाँच जेनेरेसन नेपालमा लोकतन्त्रका लागि लडे। यसलाई हामीले जोगाउनुपर्छ।'

प्रधानमन्त्री कोइरालाले संविधानमा आफूले भनेका सबै विषय सम्बोधन भएन भनेर विरोध नगर्न सबैसँग आग्रह पनि गरे।

'मेरो यो कुरा पूरा भएन भनेर विरोध गरेर हुँदैन,' प्रधानमन्त्री कोइरालाले भने, 'हामीले जति उपलब्धि हासिल गरेका छौं। यो संविधानमा साराको हकअधिकार सुरक्षित छ। अब पनि हामीले द्वन्द्व बढाउनु हुँदैन।'

मधेसवादी दललाई कसरी सहमतिमा ल्याउनुहुन्छ भन्ने पत्रकार प्रश्नमा प्रधानमन्त्री कोइरालाले जवाफ दिए, 'म पनि मधेसी हुँ, मलाई पनि मधेसवादी भन्छन्। मेरो चार पुस्ता मधेसमा बिताएको छ। मलाई विश्वास छ। सबै सहमतिमा आउनुहुन्छ। पहिले संविधान आउँदैन भन्ने थियो आयो। मधेसवादी साथीहरुसँग पनि कुरा भइरहेको छ। सबैको अधिकार सुनिश्चित हुन्छ। उहाँहरु पनि आउनुहुन्छ।'

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि संविधानको पर्खाइमा ७० वर्षदेखि रहेका जनताको चाहना पूरा भएको बताए।

'यो एउटा ऐतिहासिक क्षण हो,' नेम्वाङले भने, 'जसको पर्खाइमा नेपाल र नेपाली जनताले ७० वर्षभन्दा बढी समय व्यतित गरेका छन्। आज जनताको चाहना र भावनाले मूर्तता हासिल गरेको छ। यो हिमालदेखि तराईसम्म जनताको जित हो।'

नेम्वाङले विश्वकै इतिहासमा समावेशी संविधानसभाले बनाएको लोकतान्त्रिक संविधान नेपालले बनाएको भन्दै खुसी व्यक्त गरे।

'जनताका प्रतिनिधिले बनाएको पहिलो संविधान हो,' उनले भने, 'विश्वमै सबैभन्दा बढी समावेशी हिसाबले बनाएको संविधान हो। नेपालको इतिहासमा प्रगतिशील र लोकतान्त्रिक संविधान बनेको छ।'

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान निर्माण गरेर नेपाली जनता, राजनीतिक दल र राष्ट्र विजय भएको बताए।

'नेपाली जनता विजय भएका छन्,' उनले भने, 'राजनीतिक दलहरुको पनि विजय भएको छ। नेपाल राष्ट्र विजय भएको छ।'

उनले शान्ति, संविधान र समृद्धिको प्रक्रियामा सबै आउनैपर्ने बताए।

'प्रक्रियामा सबै आउनुपर्छ,' दाहालले भने, 'शान्ति संविधान र समृद्धिको प्रक्रियामा आउनुपर्छ। यो ऐतिहासिक क्षण हो। संविधान कुनै धर्मशास्त्र होइन। यो समृद्ध हुँदै जाने प्रक्रिया पनि हो। जायज माग सबैका सम्बोधन गर्न सकिन्छ। यो ऐतिहासिक प्रक्रियामा सबै सहभागी बनौं। अहिले बाहिर आन्दोलन गर्ने बेला होइन।'

कांग्रेस उपसभापति पौडेलले यो संविधान निर्माणको यो महŒवपूर्ण क्षणमा सबै दलका नेता सहभागी नहुँदा थोरै दुःख लागेको बताए।

'यो अवस्थामा मलाई सानो दुःख लागेको छ,' पौडेलले भने, 'संविधानसभा भनेर सबै लाग्यौं। संघीय लोकतान्त्रिक गणतन्त्र भनेर लाग्यौं। अहिले सबै सँगै हुन सकेनौं। केही मधेसवादी दल बाहिर हुनुहुन्छ। यो चिन्ताको विषय हो। तर पनि यो संविधानले मधेस, जनजाती, दलित, महिला, सीमान्तीकृत समुदायको समस्यालाई सम्बोधन गरेको छ। यसबाट जनताले अधिकार प्राप्त गरेका छन्। त्यसैले यसको सबैले स्वागत गरौं।'

उनले संविधानसभाको ऐतिहासिक क्षणमा नेपालले संविधान बनाएर मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउने बाटो तय भएको बताए।

सिँगारिँदैछ संविधानसभा भवन

संविधान जारी गर्ने दिनका लागि संविधानसभा झकिझकाउ बनाएर सिँगारिँदैछ। संविधानसभा भवनको चारैतिर ध्वजापताका झुन्ड्याइएको छ। सरसफाइ गरी चारैतिर नेपालको झन्डा राख्ने तयारी पनि गरिएको छ।

आइतबार साँझ ५ बजे संविधानसभामा करिब आधा घन्टा औपचारिक समारोह गरेर संविधान जारी गरिँदैछ।
अर्को समाचार
संविधानमा नागरिक अधिकार स्थापित भएको छ: मुख्यमन्त्री कार्की
०३ असोज २०८०
•
१ मिनेट पाठ
संविधानमा नागरिक अधिकार स्थापित भएको छ: मुख्यमन्त्री कार्की
क्यप्शन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन्।

नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस-२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राखे।

उनले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस