काठमाडौं-संविधानका विवादित विषय फेरि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नपठाई नहुने बाध्यता संविधानसभालाई पर्ने भएको छ।
विवादित विषयमा सहमति कायम गर्न र नभए प्रश्नावली बनाएर पेस गर्न दुईपटक पाएको समय समितिले त्यसै गुजारे पनि विवाद संवाद समितिमा पठाउनुको विकल्प नदेखिने नेताहरूले बताएका छन्। संवाद समिति सभापति बाबुराम भट्टराई भने संविधानसभासँग थप समय नमागेको भनाइ दोहोर्यााइरहेका छन्।
संविधानसभाले संवाद समितिलाई दोस्रोपटक दिएको समयसीमा शुक्रबार सकिएको छ। असोज २४ गते बसेको संविधानसभा बैठकले संवाद समितिलाई विवादित विषयमा सहमति कायम गर्न असोज ३० गतेसम्म र सहमति कायम हुन नसके ३१ गते प्रश्नावली बनाएर पेस गर्न निर्देशन दिएको थियो।
त्यसअघि संविधानसभाले पहिलोपटक असोज २ गते संवाद समितिलाई कार्यतालिका बाहिर गएर १२ दिनको समय उपलब्ध गराएको थियो। दुईपटक दिएको समयसीमामा पनि राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा देखिएका विवादमा सहमति कायम भएको छैन।
संवाद समितिलाई दिइएको पछिल्लो समयमा संविधान बनेको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तथा सम्पत्तिसम्बन्धी विषयलाई राज्यको निर्देशक सिद्धान्तमा राख्ने सहमति भएको थियो। तैपनि अहिले फेरि संविधानसभाले संवाद समितिलाई समय दिनुको कुनै विकल्प नभएको संविधानसभा सचिवालय स्रोतले जनाएको छ।
'संविधानसभाले दुईपटकसम्म संवाद समितिलाई विवादित विषय टुंगो लगाउन जिम्मा दियो, तर सहमति पनि गर्न सकेन। प्रश्नावली पनि बनाउन सकेन,' स्रोतले नागरिकसँग भन्यो, 'संविधानसभाले नै टुंगो लगाउने हो भने पनि प्रश्नावली त चाहियो। त्यो कसले बनाउने? शीर्ष नेता रहेको समितिले नै नसकेको काम अर्को कुन कार्यदलले सक्छ र!'
संवाद समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ वटै राजनीतिक दलका शीर्ष नेतासँग दोस्रो र तेस्रो तहका नेता पनि रहेकाले संवाद समितिबाट संविधानसभामा विषयहरू पुगेर छिनोफानो हुनै नसक्ने दाबी निष्कर्ष स्रोतको छ। 'त्यतिका शीर्ष नेता हुँदाहुँदै संवाद समितिले गर्न नसकेको काम संविधानसभाले झनै गर्न सक्दैन,' स्रोतले भन्यो, 'संवाद समितिबाटै विषयको टुंगो लगाउनुको विकल्प छैन।'
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिवेदनमाथिको छलफलपछि संविधानसभाले नै उचित निर्णय गर्ने बताए। 'संविधानसभाको आइतबार बैठकमा संवाद समितिको प्रतिवेदन पेस हुन्छ,' नेम्वाङले नागरिकसँग भने, 'संविधानसभाले नै नियमबमोजिम उचित निर्णय गर्छ।'
शनिबार बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकमा संवाद समितिलाई १० देखि १५ दिनसम्म समय उपलब्ध गराउने कि भन्ने विषयमा छलफल भएको थियो। अब जसरी पनि प्रश्नावली बनाउन संवाद समितिमै रहेका शीर्ष नेता लचिलो भएको स्रोतले बतायो। शीर्ष नेताहरूले माघ ८ गतेको समयसीमा ननाघ्ने गरी अन्य आन्तरिक कार्यतालिका पनि संशोधन गर्ने विषयमा छलफल भएको थियो। तर, बैठकले कुनै निष्कर्ष निकाल्न भने सकेन।
बैठकपछि एमाले नेता माधवकुमार नेपालले संविधान बनाउन सहमतिको विकल्प नभएको बताउँदै माघ ८ को बीचमा रहेका सबै आन्तरिक कार्यतालिका परिवर्तन हुने बताए। 'माघ ८ को बटमलाइन सर्दैन,' उनले भने, 'अरू सबै कुरा परिवर्तन हुन्छ। सहमतिमा संविधान बनाउनुको विकल्प अहिले देखिँदैन।'
शनिबार तीन दलका शीर्ष नेताको बैठकपछि एमाओवादी नेता एवं संवाद समिति सभापति भट्टराईले अहिलेसम्म समितिले गरेका सम्पूर्ण काम र प्रक्रियाको समीक्षा भएको बताए। 'यसपटक औपचारिक छलफल मात्रै भन्दा पनि हामी सा"च्चिकै निर्णयमै पुग्ने ढंगले अगाडि बढ्नुपर्छ भन्ने समझदारी भएको छ,' भट्टराईले भने, 'फेरि पनि हामीले मुख्य गरी संघीय ढा"चा, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सहमति निर्माणका लागि जोड गर्नुपर्छ। त्यसका लागि माघ ८ को समयसीमालाई ननाघ्ने गरी समय व्यवथापन गर्न सकिन्छ।'
तीन दल बैठकमा सहभागी एमाओवादी नेता खिमलाल देवकोटाले पनि विशेष तालिकासहित विवादित विषयमा छलफल अघि बढाउनुपर्ने बताए। 'विषय, समय र इच्छाशक्ति चाहियो,' उनले भने, 'विशेष गरेर तीन दलका शीर्ष नेतामै इच्छाशक्ति हुनुपर्योद। अनि वार्ताको पनि नयाँ मोडालिटी तयार गरेर अघि बढ्नुपर्योी।' आइतबार बिहान ११ बजे बस्ने संविधानसभा बैठकमा संवाद समितिका सभापति भट्टराईले समितिको प्रतिवेदन पेस गर्नेछन्।