काठमाडौं- संविधानसभाले संविधानको पहिलो मस्यौदा तयार पार्न मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि शुक्रबार संविधानसभामा भएको छलफलपछि पहिलो मस्यौदा बढीमा १५ दिनभित्र ल्याउन संविधानसभाले निर्देशन दिएको हो।
संविधानसभाको कार्यतालिका नभएपछि सभाध्यक्ष सुवास नेम्वाङले फाष्ट ट्रयाकबाट संविधान जारी गर्ने दलहरुको प्रतिवद्धता बमोजिम मस्यौदा समितिलाई १५ दिनको समय उपलब्ध गराएका हुन्।
संविधानका सम्पूर्ण विषयहरु अब मस्यौदा समितिमा पुगेका छन्। यो सँगै संविधान निर्माण प्रक्रियाले फड्को मारेको हो।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको मस्यौदा समितिले शनिबारदेखि काम थाल्नेछ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउन सभाध्यक्षले राखेको प्रस्ताव बहुमतले पारित गरेको थियो। नेम्वाङले निर्णयार्थ प्रस्तुत गरेको प्रतिवेदन सभाको बहुमतले स्वीकृत गरेको थियो।
जेठ २५ गते प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिलाई आधार मान्दै संवाद समितिले बिहीबार राती तयार पारेको प्रतिवेदन संविधानसभामा पेश गरेको थियो। समितिका सभापति बावुराम भट्टराईले प्रतिवेदन पेश गरेका थिए।
प्रतिवेदनमाथि विभिन्न दलका नेताहरुले धारणा राखेका थिए।
कांग्रेस नेता पूर्णबहादुर खड्काले सबै राजनीतिक दलहरु आफ्नो अडानबाट माथि उठेर १६ बुँदे सहमति गरेको बताए।
एमाले नेता भरतमोहन अधिकारीले मुलुक संघीयतामा प्रवेश गरिसकेकाले त्यो विषय कार्यान्वयन हुँदैन कि भनेर आंशका नगर्न असन्तुष्ट दलहरुसँग आग्रह गरे।
एमाओवादीका शक्तिबहादुर बस्नेतले चार दलबीच भएको सहमतिसँगै संविधान लेखन प्रक्रिया अघि बढेको बताए।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब बन्ने संविधान चार दलको सिण्डिकेटबाट जन्मिएको ठिमाहा दस्तावेज हुने धारणा राखे। उनले संविधानसभालाई एकातिर राखेर केही राजनीतिक दलका नेताहरुले गरेको सहमति मान्य नहुने धारणा राखे।
बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ बुँदे सम्झौता अनुसार बन्ने संविधान मधेसी जनताले स्वीकार नगर्ने चेतावनी दिए।
यसैबीच उनी नेतृत्वको फोरम नेपालसहित पाँच साना दलले १६ बुँदे सहमतिको विरोध गर्दै संविधानसभा बहिस्कार गरेका छन्।
फोरम नेपाल, तमलोपा, सद्भावना, तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादीले संविधानसभाको बैठक बहिस्कार गरेका हुन्। उनीहरुका ३५ सभासदले बैठक बहिस्कार गरेका थिए।
संविधानसभामा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा संवाद समितिका सभापति भट्टराईले कृष्ण सिटौलाले नयाँ भागवद गिता लेख्ने विश्वास व्यक्त गरे।
उनले २००७ सालदेखि रहेको नेपाली जनताको चाहनालाई सफल तुल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।