१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

यौनका सुखदुःख

संसारमा सबैभन्दा बढी चाखलाग्दो कुरा नै यौन होला! संसारका ९९ प्रतिशत मानिसहरू यसमा चासो राख्छन्। यौनका बारेमा गरिएका कैयौँ कुरा विज्ञान र शोधका क्षेत्रमा गलत देखाइएको भए पनि सर्वसाधारणले गलत कुरालाई नै सत्य मानिरहेका छन्।

यहाँ यस्तै केही भ्रम र त्यसको निवारण गर्ने प्रयास गरिएको छ।

समलैंगिकताको कुनै खास जिन हुँदैन :  समलिङ्गीहरूको भाव उत्पन्न गर्ने विशेष किसिमको जिन हुन्छ भन्ने सोचलाई शोधकर्ताहरूले गलत भनेका छन्। उनीहरूले अभिनव प्रयास गर्दा पनि त्यस किसिमको जिन फेला पार्न सकेनन्। अर्थात्, समलैंगिकताको कुनै खास जिन हुँदैन। हाम्रो वरिपरिको वातावरण र हाम्रा इच्छाले हाम्रा कैयौँ सोच र भावनालाई असर पुर्‍याउने गर्छन्। त्यस वातावरणले कतिपयलाई समलैंगिकताको इच्छा उत्पन्न हुन जान्छ। कुन व्यक्तिलाई सो किसिमको इच्छा उत्पन्न हुन्छ र कुनलाई हुँदैन भन्ने डिएनएबाट पत्ता लगाउन सकिँदैन।

टेस्टोस्टेरोनले महिलालाई कामोत्तेजित बनाउँछ :  पुरुष हार्मोन टेस्टोस्टेरोनका कारण महिलामा यौनेच्छा उत्पन्न हुन्छ भन्ने कुनै प्रमाण पाइँदैन। बरु कतिपय महिलाहरू आफूलाई यौनेच्छा नभएको गुनासो गर्दा चिकित्सकहरूले उनीहरूलाई टेस्टोस्टेरोनको सुई लिने उपाय सुझाउँछन्। शोधपछि स्पष्ट भयो, महिलामा यौनेच्छासँग त्यो सुईको कुनै साइनो नै छैन। बरु यसको वास्तविकता के हो भन्ने चाहिँ शोध हुन नै बाँकी छ।

केटाकेटीको लिङ्ग पहिचान :  उमेर बढ्दै जाँदा कतिपय बालबालिकाहरूमा आफू केटा हुँ या केटी भन्ने दुविधा बढेर जान थाल्छ। यस्तोमा उनीहरूलाई राम्रोसँग सरसल्लाह दिन सकिएन भने तिनीहरूमा अवसाद बढेर जान्छ। यो हदभन्दा अघि बढे तिनले आत्महत्यासमेत गर्न सक्छन्। सुरुवाती चरणमा हामीलाई हाम्रो लिङ्गबारे उति धेरै चासो हुँदैन। धेरैजसो बालबालिकाले आफू केटा हो या केटी भनी प्रश्न सोध्ने गर्छन्। उमेर बढ्दै जाँदा आफ्नो वास्तविकता थाहा पाउँछन्। शोधकर्ताका अनुसार आफू के हो भन्ने थाहा नपाउनेहरूमध्ये १० प्रतिशत बालबालिका ट्रान्सजेन्डर बन्ने सम्भावना रहन्छ। त्यस्ता बच्चाहरूलाई बढी ध्यान दिनुपर्ने हुन्छ। किशोर वयमा पहिचानको सङ्कट बढ्दै गयो भने डराएर तिनले आत्महत्यासमेत गर्न सक्छन्।

त्यसो त लिङ्गको पहिचानको सङ्कट निकै पुरानो कथा हो। यो पुस्ता मात्र होइन, महिला र पुरुषको बनिबनाउ ढाँचाबाट बाहिर आउने प्रयास यसअघि पनि नभएको होइन। दुई लिङ्गमा बाँडिएको समाजमा चुनौती थप्ने केही मानिसहरु नभएका होइनन्। उन्नाइसौँ शताब्दीमा फ्रान्सेली कलाकार क्लाड काहुनले पनि यस्तै चुनौती दिएका थिए। उनी लुसी भएर जन्मिएकी थिइन् तर पछि आफूलाई क्लाडका रुपमा परिचित गराए। फ्रान्समा क्लाड पुरुष र स्त्री दुवैको हुने गर्छ। आफ्नो लिङ्गका बारेमा क्लाडको भनाइ थियो– ‘कहिलेकाहीँ म स्त्री हो र कहिलेकाहीँ पुरुष। चरित्र बद्लिरहन्छ र अवस्थामा भर पर्छ।’

कतिपय जीवमा पनि त दुईभन्दा बढी लिङ्ग हुन्छन्! प्रायः हामीले त जनावरमा भाले या पोथी नै हुन्छन् भन्ने मान्यता राख्छौँ। भाले एक खास किसिमको व्यवहार देखाउँछ। त्यस्तै पोथीले पनि आफ्नै किसिमको व्यवहार देखाउँछे। तर यो कुरा सत्यभन्दा अलि टाढै छ।

जसरी मानिसमध्ये केही समलैंगिक हुन्छन्, ट्रान्सजेन्डर हुन्छन्, त्यसरी नै जनावरका कैयौँ जातिमा भाले र पोथीका अतिरिक्त अलग्गै किसिमको लिङ्गयुक्त जनावर पनि पाइन्छन्। ब्लुगिल सनफिसमा त भालेकै तीन प्रकार पाइन्छन्। यिनले विपरीत लिङ्गीलाई लोभ्याउने क्रममा कहिलेकाहीँ भालेसँगै जोडिन आइपुग्छन्।

हिजोआज पुरुष र स्त्रीलाई जनाउन ‘ऊ’ वा ‘उनी’जस्ता प्रयोग गरिन्छन्। अंग्रेजीमा ‘हि’ र ‘सी’। अंग्रेजीमा भाले वा पोथीबाहेक अन्य किसिमको सम्बोधनको आवश्यकता महसुस गर्दै नयाँ शब्द सिर्जना गर्ने पक्षमा छन्। काम चलाउनका लागि ‘दे’ शब्द उपयोग गर्न थालेका छन्। हुन त मानिसहरूको झुण्ड बुझाउन तिनीहरू उपयोग गरिँदैआएको छ। तर अब भाले वा पोथी अर्थात् स्त्री वा पुरुषभन्दा बेग्लै किसिमको पहिचान भएकालाई दे अर्थात् ‘तिनीहरू’ भन्न सकिने भनी अमेरिकन डायलेक्ट सोसाइटीले सुझाएको छ। यो शब्दले पनि त पुरुष या स्त्री के हो भन्ने ठ्याक्कै बुझाउँदैन नि!

प्रकाशित: २३ माघ २०७३ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App