१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

राजेशको जिन्दगीमा मिठास घोल्ने मधु

अनिल यादव

५  वर्षअघिसम्म राजेश हमाललाई सताइरहने प्रश्न थियो– बिहे कहिले गर्ने ? विराटनगरकी मधु भट्टराईसँग लगनगाँठो कसेपछि उनले यो प्रश्नबाट छुटकारा पाए । राजेश भन्छन्, ‘मेरो जिन्दगीमा मधुको प्रवेश नभएको भए सायद बिहे नै हुन्थेन ।’

काठमाडौँ, लैनचोरस्थित एक कफीसपमा भेटिएका राजेश र मधु नागरिक परिवारसँग आफ्नो प्रेम र जोडीबारे निकै खुलेर प्रस्तुत भएः

राजेश निर्णायक, मधु प्रतिस्पर्धी
सन् २००४ मा होटल हायातमा एउटा सौन्दर्य प्रतियोगिता भएको थियो– लक्स ब्युटी कन्टेस्ट । राजेश त्यहाँ निर्णायकका रूपमा पुगेका थिए भने मधु प्रतिस्पर्धी थिइन् । मधु त्यतिबेला प्लस टूकी विद्यार्थी थिइन् । सिम्पल र शालीन मधुमा राजेशको नजर गढ्यो । तीन दिनसम्म चलेको कार्यक्रममा उनीहरूबीच सामान्य चिनजान भयो । ‘उहाँले मलाई भिजिटिङ कार्ड दिनुभयो र मन लाग्यो भने फोन गर भन्नुभयो,’ मधुले सम्झिइन् ।
थुप्रै प्रतिस्पर्धीमध्ये राजेशले मधुलाई नै किन आफ्नो पर्सनल नम्बर दिए त ? ‘उनी ठीकै लाग्यो, त्यही भएर,’ राजेशले मुस्कुराउँदै भने । ‘ठीकै मात्र त होइन होला ?’ छेउमै रहेकी मधुले राजेशलाई हेर्दे भनिन् । जवाफमा राजेश मुस्कुराए मात्र । त्यो कार्यक्रमको अन्तिम साँझ डान्स पार्टी पनि भएको रहेछ । जहाँ राजेशले मधुलाई नाच्न आग्रह पनि गरेछन् । ‘उहाँले नाचौँ भन्नुभएको थियो, मेरो खुट्टामा घाउ थियो, त्यसैले मानिनँ,’ मधुले सुनाइन् । ‘मैले खासै जोड पनि गरिनँ, अरू युवतीहरूसँग नाचेँ,’ राजेशले हाँस्दै भने ।

तीन वर्षअघिसम्म राजेश हमाललाई सताइरहने प्रश्न थियो– बिहे कहिले गर्ने ? विराटनगरकी मधु भट्टराईसँग लगनगाँठो कसेपछि उनले यो प्रश्नबाट छुटकारा पाए । राजेश भन्छन्, ‘मेरो जिन्दगीमा मधुको प्रवेश नभएको भए सायद बिहे नै हुन्थेन ।’

 

पहिलो डेटिङ
पहिलो भेट भएको दुई हप्तासम्म राजेशको मोबाइलमा मधुको फोनको घन्टी बजेन । राजेश आफ्नै देनिकीमा फर्किसकेका थिए । दार्जिलिङको कार्यक्रम सकेर झापा, भद्रपुर आइपुगेका थिए । भोलिपल्ट काठमाडौँ फर्किने कार्यक्रम थियो । अचानक एउटा नयाँ नम्बरबाट फोन आयो । राजेशले उठाए । ‘म मधु,’ मधुको फोन रहेछ । ‘को मधु ?’ राजेशले नचिनेझैँ गरे । मधुले ‘हायातको कार्यक्रममा भेटेको’ भनेर सम्झाइन् । ‘फोन गरेको भोलिपल्ट उहाँको बर्थडे रहेछ । डिनरका लागि होटल सांग्रिलामा बोलाउनुभयो । त्यहीँ हाम्रो पहिलो डेटिङ भएको हो,’ मधुले सम्झिन् ।

प्रेम प्रस्ताव राखिएन
प्लस टू सकेपछि अध्ययनका लागि मधु काठमाडौँ आइन् । भेट भएको १० वर्षपछि उनीहरूको बिहे भयो । ‘सुरुसुरुमा त्यति भेट हुँदैनथ्यो,’ राजेशले सम्झिए, ‘बाक्लो भेटघाट भएको चाहिँ छ वर्ष भएको थियो । एकअर्कालाई प्रेम प्रस्ताव नै त राखेनौँ, तर  भावनात्मक रूपमा हामी असाध्यै नजिक थियौैँ ।’
‘आई लभ यू भनेर हामीले एक–अर्कालाई प्रपोज नै त कहिल्यै गरेनौँ,’ मधुले थप प्रस्ट पार्न खोजिन् । ‘प्रेम चाहिँ खूब झल्किन्थ्यो है तिम्रो प्रस्तुतिमा,’ मधुको अनुहार हेर्दै राजेशले भने ।

मधुकै दबाबमा बिहे
उमेर ५० वर्ष पुगिसक्दा पनि राजेशले बिहे गरेका थिएनन् । उनी खासमा आफ्नो जीवनलाई दार्शनिक हिसाबले हेर्थे । बिहेको सोचमा थिएनन् । ‘म खासमा बिहे नै नगर्ने निर्णयमा पुगिसकेको थिएँ, ’ राजेशले भने, ‘संसारमा कोही मान्छे यस्ता हुन्छन्, जो घरव्यवहार र परिवारप्रति त्यति रुचि राख्दैनन् । ती सीमित व्यक्तिमध्ये म पनि पर्थें । जीवनको लक्ष्य भनेको बिहे गर्ने, बच्चा जन्माउने मात्र हो भन्ने लाग्दैनथ्यो । जीवनमा बिहे जरुरी नै छ जस्तो लाग्दैनथ्यो ।’ आफूले दबाब नदिएको भए राजेश बिहे गर्न तयार हुने थिएनन् भन्ने कुरा मधु स्विकार्छिन् । ‘उसले एकदमै चाहना नराखेको भए बिहे नहुन पनि सक्थ्यो, होइन त ?’ मधुतिर हेर्र्दै राजेशले सोधे । ‘हो नि,’ मधुले भनिन्, ‘तर, हजुरले मन पराएको त हो नि । त्यही पनि खासमा हजुर बिहे गर्ने टाइपको मान्छे चाहिँ होइन । आम मान्छेभन्दा फरक हुनुहुन्छ । बिहे गर्नुपर्छ, बच्चा पाउनुपर्छ भन्ने सोच छैन ।’
अन्ततः उनीहरूको बिहे भयो । ‘ऊप्रतिको निकटता र प्रेमले गर्दा मैले बिहे नगर्ने बहाना भेटिनँ,’ राजेशले भने, ‘अर्को कुरा, खासमा मेरै कारणले गर्दा छ÷सात वर्ष बिहे गर्न ढिला भएको थियो । उनले त पहिलेदेखि बिहे गरौँ भनिरहेकी थिइन् ।’

फ्यान थिइनन् मधु
कतिपयलाई विश्वास नलाग्न सक्छ । तर, राजेश हमालकी श्रीमती फिल्मप्रेमी होइनन् । राजेशलाई भेट्नुअघि उनी राजेशको फ्यान पनि थिइनन् । ‘म उहाँलाई हिरो हो भनेर चिन्थेँ,’ मधुले भनिन्, ‘तर, त्यस्तो फ्यान नै चाहिँ थिइनँ । म कसैको फ्यान होइन । फिल्मप्रति मेरो सानैदेखि त्यति रुचि पनि थिएन । सानो छँदा धरानमा उहाँको ‘गोपीकृष्ण’ फिल्म हेरेको अलिअलि याद छ । ’

राजेशभन्दा मधु बुढी !
राजेश र मधुबीच उमेरको ‘राम्रै’ ग्याप छ । सम्बन्धमा यसले कत्तिको फरक पार्दो रहेछ ? प्रश्न सोध्नासाथ राजेशले पनि जवाफ मधुसँग खोजे । ‘छैन, मलाई त त्यस्तो केही लाग्दैन,’ मधुले भनिन् । त्यसपछि राजेश स्वयंले भने, ‘खासमा मेरो जोश, जवानी र इनर्जी देखेर उनी चाहिँ मलाई सोध्ने गर्छिन्, ‘म तिम्रा लागि बुढी भएँ कि क्या हो ?’’ मधुले मुन्टो हल्लाएर स्वीकार गरिन् । ‘हो, हामी सँगै व्यायाम गर्छौं, सँगै दौडिन पनि जान्छु,’ मधुले भनिन्, ‘त्यतिबेला उहाँको फुर्ती र इनर्जी देखेर म चकित हुन्छु । त्यसपछि म पो बुढी भएँ कि जस्तो महसुस हुन्छ ।’ मधुले यति भन्नासाथ राजेशले ठट्टा गरे, ‘अहिलेसम्म त ठीकै छ । दुईचार वर्षपछि अलि बुढी हुने हौ कि मेरा लागि ?’

राजेशका हजारौँ प्रशंसक छन् । युवती फ्यान पनि उत्तिकै छन् । कहिलेकाहीँ मधुले शंका गरिहाले राजेशले फकाउनलाई आफ्नो  उमेर सम्झाउँदा रहेछन् । ‘बेलाबेलामा मैले उसलाई म फिप्टी प्लसको मान्छे हो, किन ममाथि शंका गर्छौ भनेर सम्झाउनुपर्छ,’ राजेशले भने । ‘उमेरले पनि शंका गर्ने÷नगर्ने हुन्छ र ?’ मधुले तत्काल जवाफ फर्काइन्, ‘उहाँ त्यति ह्यान्डसम, ट्यालेन्टेड हुनुहुन्छ । शंका त लागिहाल्छ नि । तर, मलाई उहाँको चरित्र थाहा छ । त्यसैले रिसाइहाल्दिनँ ।’

समझदार जोडी
राजेश र मधुका नजरमा सम्बन्धलाई टिकाइराख्ने र बलियो बनाउने कडी भनेको समझदारी हो । ‘हामी दुवै फरक–फरक विचारधाराका मान्छे हौँ,’ राजेशले भने, ‘सबै कुरा नमिल्न सक्छ । त्यही पनि हामी सँगै छौँ भनेपछि हामीबीच समझदारी छ, विश्वास छ ।’ मधुले त्यसमा थपिन्, ‘प्रेम पनि त छ ।’
मधुलाई राजेशको के कुराले आकर्षित गरेको हो ? ‘उहाँलाई मैले सेलिब्रिटी होइन, असल व्यक्ति ठानेर बिहे गरेकी हुँ,’ मधुले भनिन्, ‘मलाई उहाँका सबै कुरा मन पर्छन् । मान्छे मन परेपछि सबै मन पर्दोरैछ । उहाँको व्यक्तित्व नै मन पर्छ मलाई ।’ राजेश पनि मधुबारे एक वाक्यमा भन्छन्, ‘उनको चरित्र र स्वभाव नै हो, मलाई मन पर्ने ।’

राजेशको अनौठो बानी
अरूका बारे जोक्स बनाएर मान्छे हँसाउनेहरू त हामीले देखेसुनेकै हौँ । तर, अभिनेता राजेश हमालको एउटा अनौठो बानी छ । ‘उहाँ आफ्नो मजाक आफैँ उडाउनुहुन्छ, आफ्नो जोक आफैँ बनाएर हँसाउनुहुन्छ,’ राजेशको स्वभावबारे मधुले भनिन्, ‘अरूको कुरा काट्ने बानी नै छैन उहाँको । मैले कहिलेकाहीँ अरूको कुरा गर्न खोजेँ भने पनि उहाँ सुन्नुहुन्न ।’  राजेशले त्यसमै थपिदिए, ‘हो, म अरूको जोक्स कहिल्यै गर्दिनँ, अरूबारे गसिप पनि गर्दिनँ । कसैको टीकाटिप्पणी पनि गर्दिनँ । टिप्पणी, मूल्यांकन, मजाक, जोक्स जे गर्नुपरे पनि आफ्नै बारेमा मात्र गर्छु ।’

मधु घरको कलाकार
श्रीमान–श्रीमतीबीच कहिलेकाहीँ ठाकठुक त पर्दो हो ? मधु जवाफ दिन तम्सिहालिन्, ‘खासमा उहाँ त्यति रिसाउने मान्छे होइन । मेरो मुड चाहिँ चेन्ज भइरहन्छ । कहिलेकाहीँ झ्वाट्टै रिसाइहाल्छु ।’ त्यसपछि मधुकै कुरामा राजेशले हाँसीहाँसी थपिदिए, ‘खासमा मैले एक्ट नगरे पनि ऊ रिएक्ट गरिहाल्छ । उसको दिमागमा मलाई कसैले मन पराइरहेजस्तो लाग्यो भने ऊ त्यो होस÷नहोस्, रिएक्ट गरिहाल्छ । खासमा म दर्शकको कलाकार भए पनि घरको कलाकार चाहिँ ऊ हो । कसैले एक्ट नगरीकन रिएक्ट गरिहाल्छ ।’ आफूप्रतिको टिप्पणी सुनेपछि मधुले राजेशतर्फ हेर्दै सुस्तरी भनिन्, ‘एकदम पीडित भएजस्तो कुरा नगरिस्योस् न ।’

कन्टेन्ट जोडी
राजेश र मधु आफूहरूको जोडीलाई ‘कन्टेन्ट’ जोडी भन्न रुचाउँछन् । ‘हामी जे छ, त्यसमै रमाउँछौँ, सन्तुष्ट छौँ,’ उनीहरू दुवैको एउटै आवाज थियो । मधुले थपिन्, ‘शतप्रतिशत सन्तुष्ट जोडी हौँ हामी ।’ राजेश स्वीकृतिमा मुस्कुराए । र, थपे, ‘मधुले मेरो जिन्दगीमा मिठास घोलिदिइन् ।’ उनले यसो भनिरहँदा मधुको अनुहार दोब्बर चम्किलो भएको थियो ।

(नागरिक परिवारबाट)

प्रकाशित: ६ वैशाख २०७४ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App