१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘मुसाफिर’ लिएर आए नृपेश

काठमाडौं– पन्ध्र वर्षदेखि बेलायत बस्दै आएका गीतकार तथा गजलकार नृपेश उप्रेतीले ‘मुसाफिर’ नामक गजलसंग्रह गजल पारखीमाझ ल्याएका छन् । केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार अर्जुन पोखरेल, रुपक वनवासी र नृपेशकी आमा नन्दकुमारीले संग्रह सार्वजनिक गरे ।

कार्यक्रममा गजलकार पौडेलले गजलमा काव्यभाव नहुनु मान्छेबिनाको घर र सुगन्धबिनाको फूलजस्तै भएको बताए । ‘नेपालमा छिमेकी मुलुक भारतबाट गजल शैली प्रवेश भएको पाइन्छ । तर त्यहीँका गजलमा पनि काव्यभाव छैन,’ पौडेलले भने, ‘नेपालमा हुँदा साहित्यिक गतिविधिमा सक्रिय नहुने तर विदेशमा रहँदा कविता र गजल सिर्जना गर्ने व्यक्ति कमैमात्र पाइन्छन् । गजलमा काव्यात्मक सुवास भएन भने गजलकार भन्नुको अर्थ छैन । त्यसकारण गजलकार नृपेशले आफ्नो संग्रहमा यही कुरालाई बुझ्दै गजलमा काव्यात्मक सिर्जना प्रस्तुत गरेका छन् ।’

अर्का अतिथि रुपकले साताअघि नृपेशसँगको भेट स्मरण गर्दै नृपेशको गजल लेखन शैलीबाट आफू प्रभावित भएको बताए । ‘म पनि बेलायतमा झन्डै ५ वर्ष बसें । त्यहाँ हुने साहित्यिक गतिविधिमा सहभागी हुन्थें,’ उनले भने, ‘तर नृपेशजीजस्तो गजल लेख्ने गजलकार कमै मात्र भेटें ।’

संगीतकार पोखरेलले नेपालमा गजल संगीतको फ्लेबर मौलाउँदै गएको उल्लेख गर्दै गायकगायिकाको ध्यान पनि गजल गायनतिर आकर्षित हुन थालेको बताए । ‘यो हाम्रा लागि खुशीको कुरा हो, नृपेशजीका केही गजल पनि संगीत भर्ने खालका छन्,’ संगीतकार पोखरेलले भने, ‘गजल गाउन चाहनेका लागि उहाँका गजल राम्रो खुराक बन्न सक्छ ।’

पुस्तकका स्रष्टा नृपेशले आफूले गजलमा खुशी पाएको बताउँदै त्यही खुशीलाई जीवन्त राख्नका लागि पिता र माताको नाममा पुरस्कार घोषणा गरे । ‘यो पुरस्कार र सम्मान २०७३ का उत्कृष्ट गजलकारलाई प्रदान गरिनेछ,’ नृपेशले भने, ‘यसबाहेक एक वर्षमा प्रकाशित गजलमध्ये एक उत्कृष्ट गजलकृतिलाई पनि पुरस्कृत गर्नेछौं । कार्यक्रममै २०७२ सालमा बजारमा आएको उनको एल्बम ‘आहान अर्को खुशी’ को बिक्रीबाट उठेको रकम २५ हजार चितवनका चेपाङ बालबालिकाको सहयोगार्थ हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमलाई साहित्यिक बनाउन संग्रहमा रहेका केही गजल गजलकार नृपेश, विपिन सलामी, ललित विष्ट र सुमन स्मारिकाले वाचन गरेका थिए ।
 

प्रकाशित: १४ वैशाख २०७४ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App