१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

वल्को देउसरा र गन्धर्वहरू

हेमन्त विवश

जब फेसबुकमा देख्छु, डोटीका परी गन्धर्वको फोटो । सम्झनामा आउँछ, वल्के संक्रान्ति । सुदूरपश्चिममा वल्कोको अर्थ हुन्छ, उपहार । वल्को सानाले ठूलालाई उपहार दिन्छन् । वल्के संक्रान्ति भनेको भाद्र संक्रान्ति हो । एक किसिमले माया, प्रेम र सद्भावको प्रतीक हो । मेलमिलाप र भाइचाराको सूत्र हो, हृदयरूपी कोसेली पनि हो । विडम्बना, सुदूरपश्चिममा भाद्रमा दिइने वल्को ठीकविपरीत छ । बाध्यता र विवशताको कुटुरोको रूपमा देखापर्छ । सोझा, निर्धा र असहायमाथि लादिएको हैकमका रूपमा देखापर्छ । 

‘यो समाजका ठूलाबडाको सप्पै काम पुस्तौँदेखि हामीले नै गर्दाइ आयाछौँ । हाम नभएले यिनरो गुजाराइ चल्लैनथ्यो । खै के भैर हो, हामलाई सधैँ दास मात्तर बनाए । अचेल हुनेखाने जति माल (मधेस) गैगए । हामलाई उचकलाको (पाखो) जमिन पन दिएनन् । सबै बेचिवर गए ।’

नेपाल एकीकरण हुनुअघिको डोटी राज्यले हालको सुदूरपश्चिमका अधिकांश भू–भाग समेटेको थियो । अहिले पनि डोटी क्षेत्रभन्दा विगतको त्यही डोटी राज्यले ओगटेको भू–भाग भन्ने बुझिन्छ । यस क्षेत्रमा मनाइने चाडपर्वलाई डोटेली चाडपर्व भन्ने गरिन्छ । यहाँको संस्कृतिलाई डोटेली संस्कृति भन्ने गरिन्छ । मानिस आफ्नै सांस्कृतिक परिवेशभित्र रमाइरहेको हुन्छ । कहिलेकाहीँ भने शासित वर्ग संस्कृतिको त्यही पछ्यौरीभित्र पीडित बनिरहेका हुन्छन् । मात्र शासक वर्ग रमाइरहेका हुन्छन् । हाम्रा चाडपर्व हाम्रो संस्कृतिका पाटा सबै मान्छेद्वारा नै तय गरिएका हुन् ।

हरेक ऋतुमा कामकाजबाट विश्राम लिने समयमा पर्छन्, सुदूरपश्चिमका अधिकांश चाडपर्व । ती चाडपर्व थकाइ मेटाउने, एकसाथ बसेर मीठो–मसिनो खाने र एक दिन भए पनि रमाइलो गरेर आनन्द लिने हेतुले फुर्सदका बेला तय गरेको हुनुपर्छ । सुदूरपश्चिमका तिनै चाडपर्व डोटेली संस्कृतिका पाटा हुन् । 

संस्कृतिका केही हाँगा ऐजेरु बनेर जिन्दगी सोस्ने खालका पनि थिए र यदाकदा अझै छन् । ती निमुखा दलित र गरिबमाथिको हैकम चलाउने वल्के संक्रान्तिलाई पनि त्यस क्षेत्रको संस्कृतिको एउटा हाँगोको रूपमा लिने गरिन्छ । मध्य तथा सुदूरपश्चिम लोकसाहित्य र संस्कृतिमा धनी छ भन्नु अत्युक्ति नहोला । १२ महिना र ६ वटै ऋतुले अनेक चाडपर्व बोकेकै छन् । ती पर्व त्यहाँको खानपिन रहनसहन भेषभूषा र गीतसंगीतले सजिएका छन् । ती चाडपर्वभित्र पनि कहीँकतै केही विडम्बना रहेकै छन् । 

समाजशास्त्रीका परिभाषा एकातिर छन् । संस्कृतिका हाँगाबिगाले अथवा हाम्रा चाडपर्वले समय र परिवेशअनुसार कति पिङ खेले ? जिन्दगीलाई अडेस लगाउन कतिको मद्दत पुर्याए ? अनि जिन्दगीलाई कतिको कलात्मक बनाए ? मूल प्रश्न यिनै हुन् । 

सुदूरपश्चिममा भाद्र संक्रान्तिलाई वल्के संक्रान्ति अथवा लुतो पखाल्ने संक्रान्ति पनि भनिन्छ । साउन मसान्तमा सेल, पुरी, खीरजस्ता मिष्ठान्न परिकार पकाएर सबैजना जम्मा भएर खाने र सुत्ने बेला हात–खुट्टामा मिछिट्टी (मेहँदी) लगाउने चलन छ । श्रावण मसान्तसम्म रोपाइँ र गोडमेल सिध्याइसक्ने चलन छ । भाद्र संक्रान्तिको दिन बिहानै नुहाउने गर्छन्, जसलाई लुतो पखाल्ने भनिन्छ । असार–साउनमा एकअर्काको रोपाइँमा व्यस्त रहँदा राम्ररी पखाल्न नपाएको जिउको हिलो त्यसै दिन राम्ररी पखाल्छन् । सायद त्यसैले पनि हुनुपर्छ, लुतो पखाल्ने संक्रान्ति भनिएको । 

वल्को एक प्रकारको उपहार, जुन तल्लो जातका भनिएका समुदायले माथिल्लो जातका भनिएका समुदायका मानिसको दैलोमा टक्र्याउँछन् । 

माथिल्लो जातकाले त मुखिया र जिम्मावाललाई मात्र दिए पुग्छ, वल्को । वल्कोअन्तर्गत घिउ, मह, दूध, दही, फलफूल, तरकारी, माछा आदि पर्छन् । त्यसबापत सेलपुरी आदि खान दिने र केही अन्न अथवा कपडा दिने चलन छ । तर, तल्लो जातका भनिएका दलित समुदायका मानिसले आफूभन्दा माथि ठानिएका सबैको दैलोमा पुग्नुपर्छ । तिनीहरूले दिने वल्कोअन्तर्गत जातिअनुसार भाँडाकुँडा, डोकाडाला, साग–तरकारी, तामा–पीतल वा सिलभरका औंठी, गाभा र केही नहुँदा सालको पातका दुना–टपरी, सिन्का आदि पर्छन् । पिँडालुको गाभा मात्रै भए पनि एक–एक वटा दैलो–दैलोमा राख्दै जानुपर्छ । त्यसको बदलामा भिख दिएझैँ टाढैबाट अलिकति चामल, गहुँ, कोदो, मकैमध्ये कुनै एक अन्न उसको आँचलमा खन्याइन्छ । 

भाद्र संक्रान्तिलाई विशेषगरी गन्धर्वको चाडका रूपमा पनि लिने गरिन्छ । भाद्र संक्रान्तिका दिन उनीहरू झोलाभरि तमाखु खाने माटाका स–साना सुल्पा बोकेर माथिल्लो वर्गका दैलोमा पुग्छन् । डोटी क्षेत्रका गन्धर्व भाद्रभरि नाच्दै–गाउँदै घरघरबाट अन्न माग्दै हिँड्छन् । कथा भन्छ– डोटी राजाका पालामा दरबारमा नाचगान गरेर मनोरञ्जन गराउने यस जातिको आफ्नो छुट्टै पहिचान थियो । भाद्र संक्रान्तिका दिन पहिले दरबारमा वल्को दिन्थे । त्यसपछि भाद्रभरि नै गाउँगाउँ डुलेर वल्को दिने काम गर्थे । राजाबाट बक्सिस पाएको खेतमा पहिलोपटक धान रोपेका यिनीहरूलाई धान फुलेपछि धानको बालामा पुतला (धानमा लाग्ने एक प्रकारको कीरा) बसेछन्, तिनलाई झार भन्ने सल्लाह दिएछन्, गाउँका ठालुहरूले । सल्लाहबमोजिम नै गन्धर्वले सारा धानका फूल झारे । लगत्तै तिनै ठालुले दरबारमा खबर पठाए, गन्धर्वहरू खेती गर्न चाहँदैनन् भनी । राजाले उनीहरूलाई बोलाएर प्रश्न गरे, तिमीहरूलाई सेरो चाहिने कि फेरो ? खेतीपातीको केही ज्ञान नभएका र घुमाउरो कुरा नबुझ्ने ती गन्धर्वले फेरोको अर्थ सेलरोटी लगाए र सधैँ पाकेको भोजन सेलरोटी पाइने हो भने किन काम गर्ने भन्ने सोची फेरो छाने । तर, फेरोको अर्थ डुल्दै–फिर्दै मागी खानु भन्ने थियो । यिनीहरूले मागेरै खान मन पराए छन् भनेर राजाले उनीहरूलाई मागी खानू भन्ने आदेश दिए । सारा नागरिकसमक्ष ‘यिनीहरूलाई सहयोग गर्नू’ भन्ने सन्देश पठाइयो । र, त्यसै दिनदेखि ती गन्धर्वको मागेर खाने परम्परा चल्यो । 

गाउँगाउँ डुली माग्ने क्रममा आफूलाई ठग्ने धोका दिने र मजाकको पात्र बनाउने रतने फुलारा, पुसे टमटा लगायत केहीबारे अश्लील गीत रचेर यिनीहरूले गाउने गरेका छन् । गीतमार्फत नराम्रो गाली गरेका छन् । अझ भनौँ, हुर्मत नै लिएका छन्, रतन र फुलारा लगायतको । समाजले अछुतको बिल्ला भिराएका गाउँगाउँ डुल्दै नाँच्दै–गाउँदै मागेर खाने वर्गका सुदूरपश्चिमका गन्धर्वले वर्षौं अघिदेखि अन्याय र अत्याचारविरुद्ध त्यस्ता गीत निडर भएर गाइरहेका छन् । आजका मितिसम्म पनि यस क्षेत्रका कैयौँ गन्धर्व मागी खान बाध्य छन् । उनीहरूसँग जमिन छैन । कतिपयले अरुको जमिन अधियाँ कमाएर जीविकोपार्जन गरिरहेका छन् । नयाँ अन्नबाली तयार नभएको र पुरानो अनाजको अभाव हुने समय पनि हो, भाद्र । त्यतिबेला भोकमरी हुने गथ्र्यो । अहिलेजस्तो बाटोघाटो र साधन नभएको त्यो समयमा नुन ल्याउन कैयौँ दिन हिँडेर टनकपुर पुग्नुपथ्र्यो । खाद्यान्नको निकै नै अभाव भएकाले ती गन्धर्वले भाद्रभरि नै वल्को दिने र खाद्यान्न, लत्ता–कपडा जम्मा गर्ने गरेको हुनुपर्छ । 

त्यो समयमा भोकमरी हुने महिनामा उपहार दिएर केही अन्न जम्मा पार्नु र केही दिन गुजारा चलाउनु राम्रै पक्ष हो भन्ने एकथरी विद्वान्को मत छ । त्यो मतलाई मान्न सकिने कुनै बलिया आधार देखिँदैन । किनकि समाजमा अछुत बनाइएका ती समुदायका मानिसमा अभाव सिर्जना गरिदिने माथिल्लो वर्गकै मानिस थिए । गन्धर्वको सेरो अथवा खेत गुमाउने परिवेशको सिर्जना गर्ने समाजका तिनै ठालु थिए । तिनकै कारण गन्धर्व मागेर खान बाध्य भए । घर बनाउन दिएको जमिन वर्षौंसम्म उसको नाममा पास नगरेर कमारो बनाउनेले पनि बाध्य तुल्याएका हुन् वल्को दिन । कुनै अप्ठेरोमा साहुसँग लिएको पैसाको ब्याजबापत वर्षौं हली बन्ने पनि छन्, त्यही समाजमा । वर्षभरि साहुको काम गर्दा कमाउने समय नपाउनु र साँवा तिर्न नसक्दा पुस्तौनी हली बन्नु परेकाको परिवेशले पनि बाध्य तुल्याएको हो, वल्को दिन । साहुले ऋण दिइएको पैसाको दिन दुगुना र रात चौगुना ब्याज जोड्दै जाँदा भएको जमिनको टुक्रा पनि साहुलाई नै सुम्पिनुपरेको परिवेशले बाध्य तुल्याएको हो, वल्को दिइरहन ।

मुखिया र जिम्मावालले हैकम चलाएको विगतमा समाजका अरु मानिसले घर–परिवारमा उत्पादित कुनै वस्तु साग–तरकारी, फलफूल र भाँडा उपहारका रूपमा दिने चलन चलाइएको थियो । त्यो प्रथा अहिले पनि यदाकदा छँदै छ । आफू नखाएर आफूले प्रयोगमा नल्याएर साँचेर राखेका ती चिजबिज महाशय भनाउँदाको दैलोमा पु¥याउँथे । अहिले पनि अशिक्षित समाजमा पुर्याइरहेकै छन्, जो सामन्ती प्रथाको पराकाष्ठा हो । 

यता, सहरमा पनि वल्को दिइरहेका छन्, सोझा–साझा र आवाजविहीनहरू । अझ भनौँ, वल्को दिन बाध्य तुल्याइरहेका छन् सत्ताधारीहरू । ठूला पदमा विराजमान सम्राट अनि शक्ति र पैसाको आडमा टिकिरहेकाहरू । सुदूरपश्चिममा त वर्षमा एकपटक मात्रै वल्को दिन्छन् तर यहाँ त वर्षभरि नै वल्को दिइन्छ । उता त केवल घरमा उत्पादित चिजबिज मात्रै दिइन्छ । यता त ऋण काढेर भए पनि महँगा सामानदेखि रेड लेबल र ब्लु लेबलका बोतलसम्म टक्र्याउने चलन छ । 

लोकतान्त्रिक मुलुकमा सम्राटका प्रवचन सुन्दा लाग्छ, वल्को भन्ने शब्द नै डिलिट भइसक्यो । तर व्यवहारमा उतार्न सिपालु तिनै देखिन्छन् । सोझा गरिब र निमुखाको जिन्दगी नै बनिदिन्छ तिनको वल्को । एकतन्त्रीय शासन चलेका बेला चेतनाको कमी र अशिक्षाले गाँजेको हिजोको परिवेशमा समाजमा हुने खानेको बोलबाला र रबैया चल्ने नै भयो । तर, यहाँ त प्रश्न उब्जिन थाल्यो, देशमा लोकतन्त्र आएको र शिक्षितको जमात बढिरहेका बेला झन् बढी मुखिया र जिम्मावाल जन्मिन थाले । सोझा र निर्धाले उपहार नटक्र्याउँदा दिनचर्या नै चलाउन गाह्रो हुने भइसक्यो । त्यो बेला सुदूरपश्चिममा चलेको उपहार वर्षमा एकपटक दिँदा पुग्थ्यो । त्यसको कुनै परिणाम पनि हेरिँदैनथ्यो । बारीका फलफूल र सागपात नै वल्को बन्थ्यो । त्यो उपहारको अर्थ ठूलाबडाले र मथिल्लो जातका ठानिएकाले तल्लो वर्गका मानिसलाई मात्र चाकड तुल्याइराख्ने प्रवृत्ति थियो । 

२१औँ शताब्दीको वल्को टेबुलमुनि र टेबुल माथिबाट रीत पु¥याएर टक्र्याउने पद्धति बनेको छ । काठमाडौंमा लामो समय बसोबास गरिहेका एकजना मित्रले भनिरहेका थिए, ‘निकै नै उत्साहित थिएँ, लोकतन्त्रको आगमनपछि तर मात्र शब्द परिवर्तन भए छ । महारथीका अनुहार त उनै । के नै परिवर्तन हुन्थ्यो र ।’ आदर्शको जिन्दगी बाँचिरहेका उनी पनि बाध्य भएछन् गगनचुम्बी महलमा धाउन । शाब्दिक वल्को त कति दिए दिए । बिमारी पत्नीको उपचारका लागि काजसरुवा खोज्दा पनि टक्र्याउन बाध्य भएछन् वल्को । 

सम्झिएँ वर्षौंपछि एक महिनाअघि मात्रै गाउँ जाँदा देउसराले भनेका कुरा, ‘गोसाइ नैपालबाट आएका छौ, खै हामलाई बिँडी–चुरोट के ल्याइदियौ ।’ मैले चुपचाप उनको हातमा थमाएको थिएँ, ५० रुपैयाँको नोट । उनको त्यो माग निकै नै आत्मीय थियो । त्यहाँ कुनै स्वार्थ थिएन । सोचेको थिएँ, त्यो पनि एक किसिमको पाटो नै थियो संस्कृतिको । किनकि उहिले भारतमा दरबानी गरेर घर फर्कंदा लाहुरेले स–साना केटाकेटीलाई मिस्री, चकलेट, गुँड (सक्खर) र गाउँमा धुम्रपान गर्नेका लागि बिँडी–तमाखु उपहार ल्याइदिन्थे । देउसराले नैपाललाई (काठमाडौं) लाहुर नै ठानेकी थिइन् र माग गरेकी हुन् मसँग बिँडी–चुरोट । उसो त विगतमा सुदूरपश्चिमका अधिकांशले काठमाडौंलाई नैपाल नै भन्ने गर्थे । कहाँ जाने भन्दा नैपाल जाने भन्थे । काठमाडौंको हेराइमा पनि मध्य तथा सुदूरपश्चिम कान्छी नेपालअन्तर्गत पथ्र्यो । जुन हेराई भेदभावपूर्ण नै थियो । आज उनको वाक्यमा मिसिएको त्यो नैपाल शब्दले फनफनी घुमाएको छ । देउसराले म गाउँ बसुन्जेल कैयौँपल्ट निकै जिज्ञासा राखिन् मेरासामु । विगत र वर्तमानबारे भलाकुसारी गरिन् । बेलाबखत विगतको याद दिलाइरहिन् । गाउँमा युवाहरू कोही थिएनन्, सबै दुबई कतारतिर  । तिनैको रेमिट्यान्सले धानिएको छ मुलुक । लाज, नैतिकता केही छैन, मुलुक चलाउनेसँग । यतातिर भूकम्पले कठ्यांग्रिएका मन उस्तै छन् । उतातिर झुपडी रहेको जमिन पनि साहुकै नाममा रहेको कथा–व्यथाले भरिएका हलीको दिनचर्या उस्तै छ । 

देउसराले निकै नै उत्सुक भएर भनिन्, ‘अब त हाम्रो गाउँघर पनि नैपालजस्तै हुने हो भन्छन् हो ? हामी गरिबका पनि दिन आउँछन् ?’

म निकै भावुक बनेँ । देउसराले कल्पना गरेको नैपाल सम्झिएँ । नैपाल चलाउनेको प्रवृत्ति सम्झिएँ । देउसराको निर्दोष मुहार र जिज्ञासापूर्ण प्रश्न खेलिरहे मनभरि एकातिर । यो देशका लम्पसारवादमा रमाएका नेता भ्रष्टाचारले जेलिँदै गएको परिवेश घुमिरह्यो अर्कोतिर । उनको कल्पनाभित्रको नैपाल अन्याय अत्याचारका विरुद्ध लड्न सिकाउने, अस्तित्वको खोजी गर्दा न्याय दिने, गरिब र असहायको आवाज सुन्न सक्ने, रोजगारीको अवसर दिने, गाउँबस्तीमा विकासको मार्ग तय गर्ने नैपाल हो । मलाई थाहा थियो, उनी मसँग धेरै कुरा जान्न चाहन्थिन् । मैले कसरी भन्नु हिजोका मुखिया र जिम्मावालभन्दा कम छैनन्, नैपालका शासकहरू । मैले उनका प्रश्नको उत्तर दिन सकिनँ । 

त्यहाँबाट हिँड्ने बेला एउटा प्रश्न सोधेको थिएँ उनलाई, ‘अचेल वल्को दिने चलन हटेको छ कि छैन  देउसरा ?’

निधारका रेखा तन्काउँदै उनले भनेकी थिइन्, ‘यो समाजका ठूलाबडाको सप्पै काम पुस्तौँदेखि हामीले नै गर्दाइ आयाछौँ । हाम नभएले यिनरो गुजाराइ चल्लैनथ्यो । खै के भैर हो, हामलाई सधैँ दास मात्तर बनाए । अचेल हुनेखाने जति माल (मधेस) गैगए । हामलाई उचकलाको (पाखो) जमिन पन दिएनन् । सबै बेचिवर गए ।’ सजिलै अनुमान गर्न सकिन्थ्योे, उनको मुहारमा वर्षौंदेखि दबिएर रहेको आक्रोश । जुन आक्रोश उनी अझै पूर्णरूपले बाहिर ल्याउन सकिरहेकी छैनन् । उनले एकछिन लामो सास तानेर फेरि गम्भीरतापूर्वक भनिन्, ‘उइलका जसो नदिई नहुन्या त नइथी तैपन दिनेले दिएकै छन्, हजुर ।’ 

ढुंगालाई माटाको भर माटोलाई ढुंगाको भर भनेझैँ । समाजमा एकलाई अर्कोको जरुरत परेकै हुन्छ । मान्छे सामाजिक प्राणी हो, जतिसुकै सुविधासम्पन्न भए पनि एकलकाँटे जिन्दगी जिउन त कहाँ सम्भव छ र ? महलवालाले झुपडीमा के काम पर्ला र भन्ने सोच्थ्यो तर बत्ती कात्नलाई खरानीको आवश्यकता परेपछि पुग्नुपरेको थियो रे झुपडीमै । यस्ता कथा पनि प्रशस्तै सुन्नमा आउँछन्, गाउँघरतिर । तर किन खोज्दैन मान्छे अरुको अस्तित्व स्वीकार गर्न ? किन सक्दैन भेदभावरहित जिन्दगी जिउन ? यही नै मूल प्रश्न बन्छ र बिस्तारै जिज्ञासापूर्ण ढंगले प्रस्फुटित हुन थाल्छन्, आवाजविहीनका आवाज ।

खाद्यान्नकै अभाव हुँदा त मानिसले वनका तरुल भ्याकुर कन्दमूल खाएर पनि चलाएकै हुन्, जिन्दगीका पटरा । जबजब इमानदारी, नैतिकता, न्याय र समानताको पक्षमा खडेरी पर्छ । धनी र गरिबका बीच देखापर्न थाल्छन्, ठुल्ठूला खाडल । बन्द हुन्छन्, विकास निर्माणका काम । चाहँदैन एकले अर्कोको अस्तित्व स्विकार्न । समाज र राष्ट्रमा जब अन्याय र अत्याचार झाँगिदै जान्छ, तब बाहिर निस्कन्छन्, देउसराका दबिएका आवाज । 

प्रकाशित: ६ जेष्ठ २०७४ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App