१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घाँटी भाँचिएर एकसिङ्गे गैँडा मर्‍यो

रत्ननगर (चितवन)-  चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको जानकारी दिए। मचान नजिकैको घोल (सिमसार) मा राति बिरामी जस्तो भएर बसेको गैँडा बिहान ११ बजे मरेको हो।

अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको भन्दै निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले भाले लाग्ने क्रममा भाग्दा लडेर घटना भएको जानकारी दिए। केही दिन अघि मात्रै सोही सामुदायिक वनको इचर्नी खोला नजीकै मरेको गैँडाको बच्चा (केटो) गोहीले खाएको अवस्थामा फेला पारिएको थियो।

अहिले मर्ने पोथी गैँडा त्यही केटोको आमा भएको अनुमान गरिएको डा गैरेले बताए। चोरीसिकार नियन्त्रण युवा जागरण अभियान (कुमरोज)का अध्यक्ष ईश्वरी पाठक पछिल्लो समयमा गैँडाको राम्रो वासस्थान बन्दै आएको कुमरोजमा कालगति या विभिन्न कारणले गैँडा मरिरहेको भन्दै दुःख व्यक्त गरे। यसतर्फ निकुञ्जले ध्यान दिनुपर्ने उनको भनाइ छ।

पछिल्लो गैँडा गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ। रासस
 

 

प्रकाशित: १२ असार २०७४ १४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App