१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खोरियामा ५ करोडको मोटरेबल पुल

सोलुखुम्बुको खोरीयामा बन्न लागेको पुलको नक्सा । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खोरिया जोड्नका लागि सोलुखोलामा मोटरेबल पुल निर्माण गरिने भएको छ । सदरमुकामसँग जोड्न सोलुखोलामा मोटरेबल पुल निर्माणका लागि सोलु दुधकुण्ड नगरपालिकाको पहलमा नगरपालिका, जिल्ला समन्वय समिति र अपर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनी विच त्रिपक्षिय सम्झौता भएको छ । 

कुल ५ करोड १ लाख ६३ हजार ८ सय २८ रुपैयाँको लागतमा बन्ने पक्की पुलका लागि अपर सोलुले २ करोड ५५ लाख ३८ हजार ३ सय ८६, जिल्ला समन्वय समितिले १ करोड ६९ लाख ५० हजार र नगरपालिकाले ७६ लाख ७५ हजार ४ सय ४१ रुपैँया साझेदारीमा लगानी गर्ने भएको हो । 

जलविद्युत आयोजनाले अतिप्रभावित क्षेत्र भएकाले सामाजिक उत्तरदायित्व स्वरुप पुल निर्माणमा साझेदारी गर्न लागेको हो । २०७५ साल माघ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट मेयर नाम्गेल जाङ्बु शेर्पा, जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद सापकोटा र अपर हाईड्रोका साईड प्रमुख मार्कण्ये न्यौपानेले हस्ताक्षर गरेका छन् । नगरपालिका मेयर शेर्पाले भने, ‘मोटरेबल स्टिल पुलको बोलपत्र आव्हान गर्ने काम नगरपालिकाले गर्ने र समयमै निर्माण सम्पन्न गर्नका लागि पहलकदमी लिइने छ ।’ 

५० टन क्षमताको उक्त पुलको लम्बाई ३१.२ मिटर र चौडाई ५ मिटर रहने सम्झौंतापत्रमा उल्लेख गरिएको छ । सम्झौता अनुसार पुल आगामी आर्थिक वर्षको मंसिरसम्ममा निर्माण सम्पन्न भइसक्ने पनि जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । यसअघि नै साल्मे खोलामा पक्की पुल निर्माण भई सञ्चालनमा रहेको छ भने बोल्दोखोलामा पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।

खोरिया पुल निर्माण भएसँगै सदरमुकाम प्रवेशका लागि हालको साल्मे सिस्नेरी सडक खण्डको वैकल्पिक मार्गको रुपमा विकास हुनेछ । खोरियामा पुल बनेसँगै सल्लेरीबाट काठमाडाैं जानका लागि खोरिया–च्याङसर हुँदै सिधै बाघखोर निस्कन सकिन्छ । यो मार्ग हालको साल्मे सिस्नेरीका भन्दा ३ किलोमिटर छोटो हुनेछ भने केरुङ, गोरा र टाप्टिङका लागि सदरमुकाम जोड्ने मुख्य मार्ग हुने छ । 

प्रकाशित: ८ श्रावण २०७४ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App