१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इटालीको सम्भावना जीवित

 रेजियो इमिलिया- सिरो इमोबिलले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इटालीले मंगलबार इजरायललाई १¬–० ले पराजित गर्दै सन् २०१८ रूस विश्वकप छनोट सम्भावना जीवित राखेको छ । गत साता सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा स्पेनलाई ३–० को नतिजा सुम्पिएको इटालीलाई विश्वकप छनोट सम्भावना जीवित राख्न मंगलबारको खेल जित्नैपर्ने दबाब थियो ।

यस जितपछि  ८ खेलको समाप्तिमा  ९ अंक जोडेको इटाली समूह ‘जी’ को दोस्रो स्थानमा यथावत् छ । जुन शीर्ष स्थानको स्पेनभन्दा ३ अंक कम र तेस्रो स्थानको अल्बानियाभन्दा ६ अंक बढी हो । छनोट चरणमा दुई खेल बाँकी छ । प्रत्येक समूहको शीर्ष टोली  स्वतः विश्वपमा छनोट हुनेछ । दोस्रो स्थानको टोलीले प्लेअफ खेल्नेछ ।

५३ औं मिनेटमा इमोबिलले गरेको हेड गोल  इटालीका लागि तीन अंक दिलाउन पर्याप्त भयो । उनले एन्टोनियो चान्डरेभाको पासलाई पोस्टको दिशा दिएका थिए ।

‘सकारात्मक नतिजा हाम्रो प्राथमिकता थियो र म सन्तुष्ट छु,’ इटालीका प्रशिक्षक जियामपियरो भेन्टुराले भने, ‘पहिलो हाफमा सोचेअनुरूपको प्रदर्शन गर्न नसके पनि हामीले दोस्रो हाफमा खेल नियन्त्रणमा लियौं । हाम्रो समूहको शीर्ष स्थानमा बस्दै स्वतः विश्वकपमा छनोट हुने सम्भावना अझै जीवित छ ।’

इटालीले खेलको पहिलो मिनेटमै अग्रता लिने मौका पाएको थियो । तर स्ट्राइकर आन्द्रिया बेलोटीले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएपछि इटाली निराश भएको थियो । त्यस्तै ४८औं मिनेटमा इमोबिल गोल गर्न चुक्दा इटाली फेरि एक पटक निराश भएको थियो ।

छनोट चरणको पाँचौं हार बेहोरेको इजरायल ९ अंकका साथ चौथो स्थानमा छ ।

इटालीले बाँकी दुई खेलमा क्रमशः मासेडोनिया र अल्बानियाको सामना गर्नेछ ।

इटालीले पछिल्लो पटक सन् १९९८ को फ्रान्स विश्वकपका लागि सन् १०९७ मा प्लेअफकोे सहारा लिन परेको थियो ।

समूह ‘जी’ अन्तर्गत मंगलबार सम्पन्न खेलमा शीर्ष स्थानको स्पेनले लिच्टेनिस्टेनमाथि ८–०को प्रभावशाली जित दर्ता गर्दै विश्वकप सम्भावना थप बलियो पारेको छ ।

स्पेनको जितमा अल्भारो मोराटाले दुई तथा इस्को, सर्जियो रामोस, डेभिड सिल्भा र इयागो आसपसले समान एक गोल गरेका थिए । लिच्टेनिस्टेनका म्याक्सिमिलान गोपेलले आत्मघाती गोल गर्दा स्पेनले एक गोल उपहारस्वरूप पाएको थियो ।

छनोट चरणमा अंकविहीन बनेको लिच्टेनिस्टेन पुछारमा छ । त्यस्तै अर्को खेलमा अल्बानियाले मासेडोनियालाई २–१ ले पराजित गरेको छ । यता समूह ‘डी’ को सर्बियाले आयरल्यान्डलाई पराजित गर्दै विश्वकप नजिक पुगेको छ ।

यस जितपछि ८ खेलको समाप्तिमा १८ अंक जोडेको सर्बिया समूह विजेतका रूपमा विश्वकपनजिक पुगेको हो । १४ अंक जोडेको वेल्स दोस्रो र १३ अंक जोडेको आयरल्यान्ड तेस्रो स्थानमा छन् ।

समूह ‘डी’ कै अर्को खेलमा वेल्सले माल्डोभालाई २–० ले पराजित गर्दा जर्जिया र अस्ट्रियाले १–१ को बराबरी खेलेका छन् ।

त्यस्तै  टर्कीले शीर्ष स्थानको क्रोएसियालाई १–० ले पराजित गरेपछि समूह ‘आई’ को विश्वकप छनोट दौड थप खुला तथा रोचक बनेको छ ।

यस नतिजापछि शीर्ष स्थानको क्रोएसिया र तेस्रो स्थानको टर्कीबीचको अंकदूरी २ मा  झरेको छ । ८ खेलको समाप्तिमा क्रोएसियाको १६ अंक छ । समान खेलबाट समान अंक जोडेको आइसल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

आइसल्यान्डले  युक्रेनलाई २–० ले पराजित गर्दै विश्वकप छनोट सम्भावना जीवित राखेको हो । त्यस्तै फिनल्यान्डले कोसोभोलाई १–० ले पराजित गर्यो ।

प्रकाशित: २२ भाद्र २०७४ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App