१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

राैतहटको गौर २ स्थित राम जानकी कन्या प्राथमिक बिद्यालयमा मतदान गर्न लाइन बसेका मतदान। तस्विरः मदन ठाकुर

काठमाडौं—प्रदेश २ मा सोमबार बिहानैदेखि मतदान सुरु भएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्साबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार ती जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

सप्तरीस्थित नागरिकन्युजकर्मी जितेन्द्र झाका अनुसार मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्र अाएर बिहान ५ बजेदेखि लामबद्ध भएका थिए। निर्वाचन कर्मचारीले बिहान ७ बजेपछि मात्र मतदान केन्द्र खोलेका थिए। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले राजविराज २ स्थित आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट खसालेका छन्। सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयन गर्न मतदान भइरहेको हो।

लहानस्थित नागरिकन्युजकर्मी मिथिलेश यादबकाअनुसार मतदाताले उल्लासपूर्ण रुपमा मतदानमा सहभागिता जनाइरहेका छन्। सिरहामा कूल मतदाता ३ लाख ३२ हजार ५ सय ९४ छन्। यहाँ सोमवारको मतदानबाट जिल्लाभरी ८ सय ५४ जना जनप्रतिनिधि चुन्दैछन्।

लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा मावि मतदान केन्द्रमा मतदानका लागि लाइन वसेका किरिया पूत्र शिवकुमार महतोले भने,‘दुई दशकपछि आएको यो अवसरलाई मतदानमार्फत उपयोग गर्न आफूलाई रोक्नै सकिन।'

निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा मतदानका लागि ३ हजार ५ सय ७७ मतदान केन्द्र कायम गरिएको छ। १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन्। लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा मावि मतदान केन्द्रमा मतदानका लागि लाइन वसेका किरिया पूत्र शिवकुमार महतोले भने,‘दुई दशकपछि आएको यो अवसरलाई मतदानमार्फत उपयोग गर्न आफूलाई रोक्नै सकिन।’ विहानै ६ वजेदेखि मत खसाल्ने समयको प्रतिक्षामा बसेकी कौशल्यादेवी महतोले भनिन्,‘यो खुसीको अवसरले कौतुहल बनाएको छ, बिहानै घरधन्दा सकेर लाईन बस्न आए।’

जनकपुरस्थित नागरिकन्युजकर्मी सुरेश यादबका अनुसार धनुषामा मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। काँग्रेस नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकास्थित नगराइन मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। यसैगरी कृषिमन्त्री रामकृष्ण यादबले ओरही गाउँपालिकाको कक्टौल तथा खानेपानी तथा महेन्द्र यादब लक्ष्मनियाँ गाउँपालिकाको बनिगामा प्राबि मतदान केन्द्रबाट मतदान गरेका छन्।

महोत्तरीस्थित नागरिकन्युजकर्मी महेश्वर दासका अनुसार जिल्लामा उल्लासपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि केन्द्र खुला हुने भए पनि ६ बजे नै मतदाताहरु मतदान केन्द्र आइपुगेका थिए। राजपाका प्रभावशाली नेता शरदसिंह भण्डारी औरही नगरपालिकाबाट मतदान गर्दैछन्। महोत्तरीमा १५ स्थानीय तह छन्। ती मध्ये १० नगरपालिका ५ गाउँपालिकाका छन्। ४१५ मतदान केन्द्रमा आज ७२० जनप्रतिनिधि छान्न ३ लाख ८ हजार ४०९ मतदाता गरिरहेका छन्।

सर्लाहीस्थित नागरिकन्युजकर्मीका अनुसार केही मतदान केन्द्रमा निर्धारित ७ बजेभन्दा केही ढिलोगरी मतदान सुरु भएको छ। राति हुरीबताससँगै भएको वर्षाले आइतबार तयार पारिएका केन्द्रलाई असर पारेपछि केही केन्द्रमा मतदान ढिलाई भएको हो। राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र रायको गृह जिल्ला सर्लाही हो। महतोले चन्द्रनगर गाउँपालिका–२, बबरगंज स्थित दुर्गा खोभारी जनता उमावि मतदान केन्द्रबाट मतदान गरेका छन्। महन्थ ठाकुरले मलंगवा ८ स्थित मतदान केन्द्रबाट मतदान गर्दैछन् भने महेनद्र राय हरिपुरा नगरपालिकास्थित बसन्तपुर मतदान केन्द्रबाट मतदान गर्नेछन्।

रौतहटस्थित नागरिकन्युजकर्मी मदन ठाकुरका अनुसार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गौर २ स्थित राम जानकी कन्या प्राथमिक बिद्यालय गौरबाट पहिलो मतदाताको रुपमा मतदान गरेका छन्। जिल्लाका अन्य भागमा मतदान सुरु भएको छ। सबै केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

बाराबाट नागरिकन्युजकर्मी मदन चौधरीले जनाएअनुसार जिल्लाभरि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि नै मतदाताहरु लामबद्ध भएर मतदान गरिररहेका छन्। कहीँ कतै अवरोध छैन। बारामा २ उपमहानगरपालिका सहित १६ वटा स्थानीय तह छन्।

बीरगन्जस्थित नागरिकन्युजकर्मी रितेश त्रिपाठीका अनुसार पर्सामा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। वीरगन्ज महानगरपालकिा,  पोखरिया, भद्रमाइ एवं पर्सागढी नगरपालिका तथा १० वटा गाउँपालिकाका लागि जनप्रतिनिधि छान्न सर्वसाधारण मतदान गर्दैछन्। दुई वर्ष अगाडि आजकै दिन (असोज २ गते) मधेस आन्दोलनका क्रममा वीरगन्जको नेशनल टे«डिङ अगाडि प्रहरी र प्रदर्शनकारीबीच कडा भिडन्त भएको थियो। आज त्यो स्थानमा चार वटा बुथ राखिएका छन्  भोट खसाल्न मतदाता लाइनमा छन्।

प्रकाशित: २ आश्विन २०७४ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App