१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

लागेन मकैमा दाना, किसान चिन्तित

उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो।

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे। प्रति किलो ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका– ४, का किसान राम विश्वास महतोले बताए।

‘धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो’, उनले भने, ‘अहिले सबै लगानी डुब्यो।’ बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ।

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन्। प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे। उनले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए। उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन।

महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन्। किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ की  ललिता साहको आरोप छ। मकैमा दाना नलागे पछि आफूहरु सङ्कटमा परेको उनले गुनासो गरे।

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ।

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन्। मंसिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए।

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ। नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे। मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनको दाबी छ।

‘किसानले मकै रोप्न हतार गरे’, उनले भने, ‘कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गरेको देखियो।’

मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनको दाबी छ। दाना नलागेका किसानको विवरण संकलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको उनले बताए। किसानलाई कसरी राहत पुर्‍याउन सकिन्छ भनेर आफूहरुले अनुगमन गरिरहेको उनले बताए। नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ।

किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरुले विवरण सङ्कलन सुरु गरेको र एकदुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी  दिए। अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि ६ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो।

जिल्लाको कर्मैया, ढुंग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ। जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिएको छ भने यहाँ ५.३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए।

–रासस

प्रकाशित: १७ चैत्र २०८० ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App