१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गायिका गुरुआमा

माधवप्रसाद नेपाल

हान ४ बजेको ‘अलार्म’ बजेस“गै रञ्जना प्रधानको दैनिकी सुरु हुन्छ अचेल । योगाभ्यास, दैनिक पूजाआराधना र चियानास्ता सक्दा खाना पकाउने बेला भइहाल्छ । खाना पकाएर पतिलाई कार्यालय जान तयार पर्दा नौ बजेको पत्तै हु“दैन उनलाई । बा“की घरधन्दा सकेर कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कुल पुग्दा १० बजिसक्छ । विद्यालयको दैनिक जिम्मेवारीको सूची लामै छ उनको । विभिन्न विभागीय प्रमुखस“ग छलफल, ब्लक इन्जार्चहरूस“ग मिटिङ, झन्डै तीन हजार विद्यार्थीका अभिभावकको गुनासो सुनुवाइ, तीन सय जति शिक्षक–कर्मचारी व्यवथापनसहित विद्यालयको दैनिक प्रशासन सञ्चालन गर्नु उनका दैनिकी हुन् । तीबाहेक विभिन्न सङ्घसंस्थाको निमन्त्रणामा स्कुलको प्रतिनिधित्व गर्नु, स्कुलको भावी कार्ययोजना तर्जुमामा सञ्चालकहरुस“ग नियमित सम्पर्कमा रहिरहनु, अभिभावकको माग अनि बालबालिकाको रुचि र आवश्यकताअनुसारका सिकाइ कार्यकलाप अवलम्बन गर्न नया“नया“ योजना तर्जुमा गरी कार्यान्वयनमा लैजानु उनका अन्य जिम्मेवारी हुन् । 

विद्यालयबाट छुटेपछि दैनिक मन्दिर जानैपर्छ उनलाई । घर पुग्दा रात परिसकेको हुन्छ । त्यसपछि भान्छामा प्रवेश गरी परिवारका सदस्यको रुचिअनुसारका परिकार तयार पार्न उनी व्यस्त हुन्छिन् केही बेर । सबै काम सक्दा राति साढे १० बज्छ गृहिणी रञ्जनाको । अनि भोलिपल्ट विद्यालयमा गर्नुपर्ने महत्त्वपूर्ण कामको तयारी गरेर ओछ्यानमा पल्टि“दा लगभग ११ बज्छ । तपाईं व्यक्तिगत काममा कति समय दिनुहुन्छ ? प्रिन्सिपल रञ्जना भन्छिन्, ‘मलाई त २४ हैन, ३० घन्टाको एक दिन होस् जस्तो लाग्छ । भएजत्ति समय विद्यालयलाई दिन्छु । आफ्ना लागि त बिदाका दिन मात्र हो ।’ अक्सफामले हालै गरेको एक अध्ययनअनुसार नेपाली महिला दैनिक १४ घन्टा निरन्तरमा काममा खट्छन् । बा“की १० घन्टा सुत्ने, खाने, व्यक्तिगत सरसफाइमा खर्च गर्छन् । रञ्जनाको दैनिक समय निकै ‘टाइड’ छ । उनी भन्छिन्, ‘कहिले त घरबाट ल्याएको टिफिन खाने फुर्सद नभएर फर्काएर लैजान्छु ।’

रञ्जना न कुनै औद्योगिक घरानाकी छोरी हुन् न कुनै धनाढ्यकी बुहारी । उनी साढे दुई दशकअघि दार्जिलिङबाट उच्च अध्ययन र गीतसङ्गीतका क्षेत्रमा ‘करियर’ बनाउन काठमाडौं छिरेकी सामान्य परिवारकी छोरी हुन् । कार्यतत्परता, उच्च मनोबल, लगनशीलता र भविष्यप्रतिको सकारात्मक सोचलाई मूल मन्त्र मान्दै अघि बढेकी रञ्जना अहिले झन्डै तीन हजार विद्यार्थी र ३०० कर्मचारी तथा हजारौ“ अभिभावकको आशा र ती कर्मचारीका सयौं परिवारका सदस्यको भरोसा बनेकी छन् । त्यतिमात्र होइन हजारौ“ विद्यार्थीकी गुरुआमा हुन् उनी ।  

रञ्जना प्रधान २०५० सालतिर काठमाडौं नछिरेको भए पूर्वाेत्तर भारत र संसारका नेपाली भाषी समुदायबीच उहिल्यै स्थापित गायिकाका रूपमा चिनिन्थिन् सायद । स्कुलजीवनकै क्रममा अल इन्डिया रेडियो र दूरदर्शन टेलिभिजन च्यानलको साङ्गीतिक ‘सो’ मा गुन्जिन थालेपछि उनी गायन क्षेत्रमै लागेर दाम र नाम कमाउने अठोटमा थिइन् । कक्षा आठमा पढ्दा अल इन्डिया रेडियोबाट स्वर परीक्षण पास गरेकी रञ्जनाले किशोर वयमै विभिन्न ब्रान्डका विज्ञापनमा स्वर दिएर व्यवसायी र श्रोताको मन जितिसकेकी थिइन् । १७ वर्षको उमेरमा ‘किशोरका गीतहरू’ नामक एल्बम निकालेपछि उनका ‘फ्यान’ ह्वात्तै बढेका थिए त्यतिबेला । ‘स्टेज’ कार्यक्रममा रञ्जनाको कोकिल कण्ठी आवाजलाई तारिफ गर्ने प्रशस्तै थिए । शास्त्रीय सङ्गीतमा स्नातक गरेपछि यसै क्षेत्रमा लागेर आफ्नो ‘करियर’ उचाइमा पुर्‍याउने औपचारिक बाटो खुल्यो उनको । उनले भनिन्, ‘गायन मेरो सानैदेखिको सोख, त्यसैले पढाइस“गै बहुतै दुःख गरेर सिके“ गीतसङ्गीत । आमाले गीतसङ्गीतमा लागेर के गर्छेस् ? अर्काको घरमा जानुपरिहाल्छ भन्नुहुन्थ्यो । तर म गीतसङ्गीत छोड्न चाहँदैनथे“ ।’ किशोर अवस्थामै गीत गाएर र बोर्डिङ स्कुलमा पढाएर उनले स्वावलम्बी बन्ने अभ्यास गरेकी थिइन् । आठ कक्षामा पढ्दै गर्दा गायनमा लागेकी रञ्जनाले १० कक्षामा पुग्दा आफ्नो खर्चका लागि परिवारको मुख ताक्नुपरेन । गायन र शिक्षणमा लागेर पैसा कमाउन थालेपछि उल्टै परिवारको आडभरोसा बन्न पुगिन् उनी । 

चार दिदीबहिनी र दुई दाजुभाइमध्ये कान्छी छोरी रञ्जनाको जीवन भने सोचेजसरी अगाडि बढेन । २२ वर्षको उमेरमा विवाह भएपछि उनको सपना विपरीत दिशातर्फ मोडिन पुग्यो । पतिस“गै काठमाडौ“ छिरेपछि दैनिक गुजारा चलाउने र दाम्पत्यभारलाई सहज रुपमा अवतरण गराउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुन थाल्यो । उनीसित दुई विकल्प थिए — सङ्गीत या शिक्षण । सङ्गीतमा लागेर तत्काल जीविकोपार्जन नहुने देखेपछि उनी केही समयका लागि भनेर शिक्षण पेसामा लागिन् । शिक्षण पेसालाई निरन्तरता दि“दै जा“दा उनी आर्थिक रूपमा सबल भइन् भने धेरै चेलाका गुरुआमा बन्ने सौभाग्य प्राप्त गरिन् । त्यसपछि शिक्षणमै रस बस्यो, सङ्गीत साधना चटक्कै छोडिन् उनले । बरु शिक्षा प्रशासनमा पनि आफूलाई अब्बल प्रमाणित गर्न सफल भइन् । २०६९, २०७० र २०७१ लगातार तीन वर्षसम्म नेपाल सरकारबाट क्षेत्रीय र राष्ट्रिय पुरस्कार पाएर नाइटिङ्गेल देशकै प्रतिष्ठित शिक्षण संस्था बन्न सफल हुनुमा रञ्जना ‘म्याम’को निकै ठूलो योगदान रहेको विद्यालयका संस्थापक तेजुलाल चौधरी स्वीकार्छन् । 

केही वर्ष पढाएको, अङ्ग्रेजीमा फरर बोल्न सक्ने, शिक्षकमा हुनुपर्ने अधिकांश गुण भएकी युवती फेला परेपछि भर्खरै स्कुल स्थापना गरेका तेजुलालले मन थाम्न सकेनन् २०५० सालमा । उनले तत्काल रञ्जनाले भनेजत्ति तलब दिएर जागिर दिए । रञ्जनाले केही वर्ष पढाएर विद्यालयको शैक्षिक स्तरमात्र उकासिनन्, विद्यालयको भौतिक एवम् अन्य प्रशासनिक क्षेत्रमा पनि नया“नया“ योजना बुन्न थालिन् । बिस्तारै उनी शिक्षकको भूमिकामा कम र विद्यालयको प्रशासकमा बढी समय दिन थालिन् । २०५१ सालतिर फर्कंदै उनले भनिन्, ‘म त्यतिबेला कुपण्डोलका घरघरमा गए“, अभिभावकलाई सम्झाए“ । कतिपय विद्यार्थीको त ओछ्यानसम्मै पुगे“ उनीहरूलाई उठाउन, गृहकार्य गराउन ।’ उनको यस्तो गतिविधि देखेर विद्यालय व्यवस्थापनले थप हौसला दिन थाल्यो भने अभिभावकले ‘मिस त यस्तो पो हुनुपर्छ’ भनेर तारिफ गर्न थाल्यो । त्यही हौसला र तारिफले उनलाई अझै उदाहरणीय भएर अगाडि बढ्ने प्रेरणा मिल्यो । उनी भन्छिन्, ‘यसमा तेजुलाल सरले सधै“ साथ दिइरहनुभयो ।’

२४ वर्षअघि नाइटिङ्गेल स्कुल स्थापना भएको वर्ष ९ जना विद्यार्थीले एसएलसी परीक्षा दिएका थिए । २०७३ सम्म आइपुग्दा विद्यालयबाट बर्सेनि साढे दुई सय विद्यार्थी एसइई दिने अवस्थामा पुगेका छन् । विद्यालय अहिले भौतिक रुपमा सम्पन्न र अत्याधुनिक भइसकेको छ । रञ्जना भन्छिन्, ‘मैले सुरुदेखि नै हामी शिक्षक उदाहरणीय बन्नुपर्छ भनेर योजना बनाए“ । हरेक कुरामा उदाहरणीय— पढाइमा, समय व्यवस्थापनमा, पहिरनमा ।  हामी आफै“ उदाहरणीय भएनौ“ भने कसरी सिकाउन सक्छौ“ ?’ यस क्रममा विद्यालयका शिक्षकहरूले अरु नाम चलेका विद्यालयका राम्रा कुरालाई नक्कल गर्न थाले । बालबालिकालाई कसरी रचनात्मक काममा लगाउन सकिन्छ भनेर योजना बन्न थाल्यो । त्यसलाई बिस्तारै कार्यान्वयन गर्न थालेपछि विद्यालय सफल हु“दै अगाडि बढेको अनुभव उनको छ । 

घामपानी, झरीबादल, बिरामी हु“दाको अवस्थामा पनि रञ्जनाको टोली विद्यालयमा खटिरह्यो । कहिले पैसा लिएर र त कहिले बिनापारिश्रमिक पढाए उनीहरूले । संस्था राम्रो भयो भने शिक्षक कर्मचारीको भविष्य पनि उज्यालो हुनेमा रञ्जना दृढ थिइन् । उनले भनिन्, ‘म सुत्केरी हु“दा ४५ दिन बिदा मिल्यो । त्यसपछि बच्चालाई कहा“ राख्ने भन्ने समस्या भयो । अनि विद्यालय आउ“दा बच्चास“गै ल्याउन थाले“ । क्यान्टिनमा सुताएर पढाउन जान्थे“ ।’ उनलाई आफ्नो दोस्रो सन्तानजस्तै लाग्छ विद्यालय । विद्यालय संस्थापक चौधरीको जसरी हुन्छ विद्यालय राम्रो बनाऔ“ भन्ने एकसूत्रीय आग्रह, टिम वर्क, लगनशीलता र निरन्तरको खटाइले नै १९ जना विद्यार्थीबाट सुरु गरिएको विद्यालय अहिले तीन हजार पुगेको रञ्जनाको अनुभव छ । निजी शिक्षा व्यापारमुखी बन्दै गएको भन्ने आलोचनालाई रञ्जनाको जबाफ छ, ‘हामी अभिभावकको ढाड सेक्ने गरी मह“गो शुल्क लि“दैनौ“ । अभिभावकको इच्छा र बालबालिकाको रुचि र चाहनाअनुसारको शिक्षा दिन हामी चुकेका छैनौं । शिक्षक कर्मचारीको आयस्रोत नै विद्यार्थी शुल्क भएपछि मापदण्डअनुसार शुल्क लिनैपर्‍यो ।’

अहिले रञ्जना गायनबाट ‘ब्याक’ भइसकेकी छिन् । सङ्गीतमा साधना चाहिन्छ । साधना टुटेपछि गायन अगाडि बढाउन सकिन्न । पढाउने लाइनमा लागेपछि बालबालिकाको माया लाग्यो, अभिभावकको रुचिअनुसारको शिक्षा दिने योजना तयार पार्दापार्दै साढे दुई दशक बितिसक्यो तर रञ्जनाको लगाव घटेको छैन । उनी भन्छिन्, ‘मैले पढाएका विद्यार्थी दक्ष जनशक्तिका रूपमा मुलुकका उपल्लो निकायमा पुगेको देख्दा र सुन्दा ज्यादै खुसी लाग्छ । ती विद्यार्थीले गर्ने सम्मान र श्रद्धा नै मेरो ठूलो सम्पत्ति हो ।’ अब यही सम्पत्ति कसरी जोगाएर राख्ने भन्ने चिन्ता छ उनलाई । विद्यालय नमुना बनाउन कस्ता योजना बनाउने भन्ने चिन्ताले दिनरात सताइरहेको हुन्छ । उनले अब विद्यालयकै उन्नतिमा आफूलाई समर्पण गरिसकेकी छन् । भन्छिन्, ‘एउटा संस्था हुर्काउन कठोर मेहनत गर्नुप¥यो । अब यो संस्थाको साख जोगाइराख्नु पनि मेरो कर्तव्य हो । त्यसैले विद्यालयको भौतिक र शैक्षणिक सुधारबाहेक अन्य कुरा सोच्ने फुर्सदै छैन मलाई ।’

प्रकाशित: १० असार २०७४ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App